अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अर्न्तक्रिया कार्यक्रम असार ८ गते तानसेनमा सम्पन्न भएको छ ।

इन्सेक क्षेत्रीय कार्यालय पोखराकी इएलपी कार्यक्रम संयोजक सवनम शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेकले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफेदही बनाउने कार्यक्रम अन्तर्गत अर्न्तक्रिया कार्यक्रम गरिएकोबारे जानकारी गराइन् ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले ‘स्वाथ्य नीति र पाल्पामा कार्यान्वयनको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमाथि टिप्पणी राख्दै वरिष्ठ पत्रकार मेघराज शर्मा, मानव अधिकारकर्मी दिवाकर पाण्डे लगायतले जिल्लामा स्थानीय स्तरको स्वास्थ्य सेवा प्रभावकारी नभएको, स्वास्थ्यकर्मीहरू सामाजिक हुन नसकेको, औषधि र उपकरण सरकारले घोषणा गरे बमोजिम नभएको लगायतका गुनासा गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले सामाजिक क्षेत्रको चेतना स्तर बृद्धि र विकासका लागि गैरसरकारी संस्थाहरूको पनि महत्वपूर्ण भूमिका हुने बताए ।
यज्ञमूर्ति तिमिल्सिना