नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व आयोजित वार्षिक समीक्षा कार्यक्रममा सरोकारवाला तथा अधिकारकर्मीहरूले जातीय विभेदका घटनालाई प्राथमिकतामा राख्न इन्सेकलाई सुझाव दिएका छन् ।
वर्ष पुस्तक प्रकाशन गर्नुअघि वर्ष पुस्तकमा समेटिने जिल्लाका घटनामा सम्वन्धमा पुस १५ गते दिक्तेलमा आयोजित कार्यक्रममा सहभागीहरूले इन्सेकको अभिलेखीकरणको काम महत्वपूर्ण हुँदै आएको र अझ जातीय विभेदका घटनालाई इन्सेकले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
समीक्षा कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १, शाखा कार्यालय खोटाङकी मानव अधिकार अधिकृत सुमित्रा राईले प्रदेश १,लाई छुवाछुतमुक्त प्रदेश घोषणा गर्ने अभियानलाई जिल्लाबाटै शुरूआत गर्न आयोजना गरिएको सहभोजमा सहभागी एक आचार्य थरका वृद्घ सामाजिक बहिस्कारमा परेको उदाहरण दिँदै त्यस्ता घटनामा आयोगको आपत्ति भएको र ति घटनाका पीडितलाई न्याय दिलाउनु इन्सेकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले इन्सेकले जातीय विभेदका घटनालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । जातीय छुवाछुतसँगै बढ्दो सडक सञ्जालका कारण धेरै मानिस घरबारविहीन भएकाले त्यस्तो परिवारको आर्थिक अधिकार संरक्षण गर्न समेत इन्सेकले भूमिका निर्वाह गर्नुपर्ने अधिकृत राईको भनाई छ ।
माओवादी द्वन्द्वकालमा वेपत्ता पारिएको दुई परिवार अझै पनि फेला पार्न नसकेको कुरालाई इन्सेकले अभिलेख गरेको भएपनि उनीहरूको हालको अवस्था के छ ? खोज्न सुझाव दिनुभयो ।
नेकपाका जिल्ला कार्यालय सदस्य संगीन राईले दिक्तेलबजार लगायतका बजारहरूमा वासी तथा सडेगलेका खानेकुरा खाँदै र चिसो भुईंमा सुत्दै हिँड्ने बेवारिसे मानिसहरूको स्वस्थ खाना र बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्न अधिकारकर्मीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
समीक्षा कार्यक्रममा ०७५ पुस १७ देखि ०७६ पुस १५ गतेसम्म ११ ओटा बलात्कारका घटना र ७ ओटा बलात्कार प्रयास भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा ५ जना महिला र ६ जना बालिका पीडित भएका छन् । ६ जना महिलालाई बलात्कार प्रयास र १ जना बालिकालाई दुव्र्यवहार भएको तथ्याङ्कले देखाएको छ । यस्तै, ४ ओटा हत्या, ४ ओटा कुटपिटर घाईते, १ हत्या प्रयास, १ बहुविवाहका घटना अभिलेख गरिएको छ । जिल्लामा यो वर्ष ३ वटा स्काभेटर र गाउँपालिकाको १ ओटा गाडीमा अज्ञात समूहबाट आगजानी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

