जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा ०८२ जेठ २२ गते अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय र धुलिखेल नगरपालिकाको संयुक्त आयाेजनामा छुवाछुत विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिकाभित्र बसोबास गरिरहेका दलित समुदायको सक्रिय सहभागिता रहेको कार्यक्रममा सकारात्मक सोच, भेदभाव र छुवाछुत विरुद्धको अभियानमा सक्रिय रहन गरिएका प्रयास, कानूनी ब्यवस्था र अवस्थाका विषयमा चर्चा गरिएको थियाे ।

धुलिखेल नगरको दलित परिषद् उपाध्यक्ष चमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकका बागमती प्रदेश संयोजक गणेश भण्डारीले जातीय विभेद विरुद्धको महासन्धी र इन्सेकले गर्दै आएको दलित हकअधिकारका कार्यक्रमका विषयमा जानकारी दिनुभयो ।

धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले छुवाछुत मुक्त पालिकाका लागि गर्नुपर्ने कार्यहरूका विषयमा चर्चा गर्नुभयो । उहाँले नगरपालिकाले गठन गरेको दलित परिषद् मार्फत दलित समुदायको हक अधिकार स्थापित गर्न पेसालाई प्रविधीसँग जोड्दै आफ्नो सीपलाई प्रभावकारी बनाउन जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी र लैङ्गिक विकास तथा समाज कल्याण शाखा प्रमुख पुजा काफ्ले लगायतले कार्यक्रमको उद्देश्य तथा कार्यक्रममाथी प्रकाश पार्दै धुलिखेल नगरपालिकाले गरिरहेका गतिविधिका बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा अभिन्यता सुशिल विश्वकर्माले जातीय भेदभाव विरुद्धको महासन्धी, राष्ट्रिय दिवसको महत्व, विभेद विरुद्धको अभियान, दलित अधिकार र विकासको योजना तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियाे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय सकारात्मक सोचका प्रशिक्षक रमण भट्टराईले सकारात्मक सोच सम्बन्धी जानकारी गराउनु भयाे । सहभागिहरूले दलित समुदायले भोगेका समस्याहरूका विषयमा अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य जनप्रतिनिधिहरू समेत गरी करिब १ सय जनाको सहभागिता रहेकाे थियो ।
