अन्नपूर्ण गाउँपालिका स्थित वडा नं ६ र ७ लुम्लेका स्थानीयहरूले गाउँपालिका स्तरिय निगरानी समूह गठन गर्न माग गरेका छन् ।
चैत २८ गते लुम्लेमा गरिएको मानव अधिकार निगरानी समूहको बैठकमा बोल्दै वडा नं ६ का मानव अधिकार निगरानी समूहका अध्यक्ष गोपल देवकोटाले गाउँपालिकाको योजना, नीति र कार्यहरूलाई प्रभावकारी बनाउन निगरानी आवश्यक रहेकाले गाउँपालिका स्तरीय मानव अधिकार निगरानी समूह गठन गर्नपर्ने धारण राखे ।
‘केही वडाहरूमा गठन भएको छ । नागरिकहरूको निगरानीपछि कामहरू प्रभावकारी भइरहेका छन् । अब बाँकी वडा र गाउँपालिका स्तरीय समूह गठन गरी गाउँपालिकाको कामहरूमा नागरिकहरूको निगरानी बढाउनु पदर्छ ।’–उनले भने ।
वडा नं ६ की दलित महिला सदस्य सेती बिकले मानव अधिकार निगरानी समूहका कार्यक्रमहरू उपलब्धिमुलक रहेका र बैठकमा उठेका विषयहरूलाई सम्बन्धित स्थानमा पुर्याउने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले शिक्षा स्वास्थ्य र खाद्य अधिकारका विषयमा गाउँपालिकाभर नै सचेतना कार्यक्रम गरिनुपर्ने भनाई राखिन् ।
वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर गुरूङले गाउँपालिका स्तरीय निगरानी समूह गठनका लागि पहल गर्ने बताए ।
स्थानिय एकदेव देवकोटाले गाउँपालिकामा स्वास्थ्य विमाका बारेमा सचेतना कार्यक्रम आयोजना गर्न आग्रह गरे ।
‘स्वास्थ्य विमा निकै राम्रो कार्यक्रम हो । तर, स्थानीयलाई यसबारे ज्ञान छैन यसबारे गाउँपालिका र निगरानी समूह मिलेर सचेतना कार्यक्रम गरौँ ।’–देवकोटाले भने ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण देवकोटाले अधिकारका र कर्तव्यका विषयहरू सँगसँगै लैजानु पर्ने धारणा राखे । उनले नागरिकहरूलाई स्वस्थ खानेपानीको सुविधा निरन्तर रूपमा उपलब्ध गराउनुपर्ने बताए ।


सुशन घिमिरे