गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पुस १७ गते गल्छी गाउँपालिका–६ बैरेनीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि क्षमता अभिवृद्धि तालिममा गाउँपालिका अध्यक्ष श्रेष्ठले गाउँपालिका बालमैत्री, अपाङ्गमैत्री बनाउन साझेदार निकायसँग संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
बालबालिका तथा महिलामाथि हिंसाका घटना बढेकोले यसलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाले विषेश कार्यक्रम लागु गर्ने उनको भनाई छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बालिकाहरू बढी असुरक्षित रहेको, सामाजिक सञ्जालका कारण यौन हिंसा र बालविवाहका घटनामा बृद्धि भएकोले इन्सेकसँग साझेदारीमा बाल अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताइन् ।
इन्सेक प्रदेश ३ कार्यालयका संयोजक कृष्ण गौतमले सामुदायिक विद्यालय भन्दा पनि निजी विद्यालयमा हिंसाका घटनाहरू बढिरहेकाले हिंसाका घटनामा राज्यले रोक्न प्रयास गर्नु पर्ने बताए । दुई दिन सञ्चालन हुने तालिममा चार विद्यालयका २० बालबालिकाहरूको सहभागिता रहेको छ ।


सीताराम अधिकारी