गण्डकी प्रदेशमा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि र अधिकारको प्रवर्द्धनका लागि प्रदेशस्तरीय सम्मेलन सम्पन्न भएको छ। कार्यक्रम इन्सेक गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र युरोपियन युनियनको सहकार्यमा आयोजना गरिएको हो।
सम्मेलनमा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले इन्सेकले मानव अधिकारको क्षेत्रमा पुर्याउदै आएको योगदानको प्रशंसा गर्नुभयाे । इन्सेकजस्ता संस्थाको निरन्तरता अत्यन्त आवश्यक छ। मानव अधिकार उल्लङ्घन कम गर्न यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्छन्,´ उहाँले भन्नुभयाे ।
कार्यक्रमको सभाध्यक्षता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानुन महाशाखाका सचिव रामजी दनाईले मानव अधिकार रक्षकहरूप्रति भइरहेको दण्डहीनताको अन्त्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयाे, `कानुन बनाउने मात्रै होइन, कार्यान्वयन पनि गर्नुपर्छ। अधिकारका विषयलाई समाजको मूलधारमा ल्याउन कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय मान्यता र प्रेस स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ।´
नागरिक समाजको तर्फबाट शान्तिका लागि नागरिक समाज सञ्जाल संयोजक बिना शिलवालले पीडितका पक्षमा राज्य जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । ‘कसै–कसैले बलात्कारजस्ता गम्भीर मुद्दामा पनि आर्थिक लेनदेनको बाटो खोज्ने गरेका छन्, जुन समाजका लागि चिन्ताजनक हो,’ उहाँले भन्नुभयाे।

पत्रकार रमेश पौडेलले मानव अधिकारको सवालमा समाजका हरेक व्यक्तिले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मानव अधिकार केवल लेख्ने कुरा होइन, हरेक नागरिक यसका कर्मी हुन्छ ।’ इन्सेक केन्द्रीय कार्यालयका सूचना अधिकारी कृष्ण गौतमले पत्रकारहरू आवाजविहीनहरूको आवाज बनेका कारण जोखिममा पर्ने गरेको भन्दै पत्रकारहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयाे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिनेशकुमार आचार्य, गैरसरकारी महासंघ गण्डकी अध्यक्ष गोपाल खड्का, प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछाने, इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेललगायतका वक्ताहरूले मानव अधिकार संरक्षण, राज्य र नागरिक समाजबीचको सहकार्य र रक्षकहरूको भूमिकाबारे आ–आफ्नो धारणा राखेका थिए ।

सहभागीहरूले प्रदेशमा बनाइएका कानुनहरूलाई प्रभावकारी कार्यान्वयन गर्दै मानव अधिकार रक्षकहरूको सुरक्षामा जोड दिए ।
