अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजना एवम् मानव अधिकार समूह हेटौँडा उपमहानगरपालिकाको संयोजनमा ०७८ असोज १५ गते हेटौँडामा खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडा महेशमान श्रेष्ठले खाद्य अधिकारका विषयमा उपभोक्ता चनाखो हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले उपभोक्तले आफू पनि सामग्री खरीद गर्दा चनाखो हुनु पर्ने र ठगिनबाट जोगिनुपर्ने साथै त्यस्तो खालको कुनै गतिविधि भएमा सम्बन्धित निकायमा जानकारी गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बासु खतिवडाले उपाभोक्तले सचेत भएर आफ्नो बानी व्यवहारलाई समेत सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो–“हामीले जुनसुकै वस्तु खरिद गर्दा बिल माग्दैनौँ, बिल नहुँदा केही समस्या भयो भन्दा उजुरी गर्ने आधार हुँदैन ।”
त्यसैले हरेक सामान किन्दा बिल अनिवार्य माग्ने बानी बसाल्न उपभोक्ताहरुलाई आग्रह खतिवडाले गर्नुभयो । उपभोक्ताको प्रतिनिधित्व गर्दै हामीले बजार अनुगमनको लागि प्रशासनलाई पटक–पटक झक्झकाउँने गरेको उहाँले बताउनुभयो ।
तर बजार अनुगमनको क्रममा मिसावट गर्ने, मूल्य बृद्धि गर्ने, र अखाद्य वस्तु बिक्रि गरिरहेको पाइए पनि प्रशासनले तत्काल कारबाही गर्न नसक्दा अनुगमनप्रति जनताको विश्वास हराउँदै गएको पनि खतिवडाले बताउनु भयो ।
कार्यक्रममा उपमहानगरपालिकाकी कृषि प्राविधिक रुपा खतिवडाले उपमहानगरपालिकाबाट खाद्यको अधिकारका विषयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको र कृषकलाई प्रोत्साहित गर्ने खालको योजनाहरू सञ्चालित भइरहेको जानकारी गराउनुभयो ।
उहाँले किसानले समयमै रसायनिक मल नपाउने गरेको गुनासोलाई स्वीकार्दै राज्यले रसायनिक मलको बारेमा ठोस नीति निर्माण नगरेसम्म हरेक बर्ष समस्या सिर्जना भइरहने बताउनुभयो ।
तर उपमहानगरपालिकाबाट सिफरिस भएका मल बिक्रेता सहकारीहरुबाट प्राप्त मलको सहज वितरणको लागि निरन्तर निगरानी र खबरदारी गर्ने गरेको उहाँले बताउनुभयो ।
कार्यक्रमका सहभागीहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा मिति नाघेका खाद्यसामग्रीहरू बिक्रि वितरण हुने गरेको, महँगी बढेको, खाद्य मिसावट हुने गरेको लगायत थुप्प्रै समस्याहरु हुने हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
सहभागीहरू उपमहानगरपालिकाबाट दिइने सेवा सुविधा तथा अनुदानहरुका विषयामा कृषकहरूले जानकारी नपाउने समस्या रहेको समेत बताएका थिए ।
कार्यक्रममा मानव अधिकार समूहकी संयोजक चन्द्रावती पनेरुले हेटौँडा उपमहानगरपालिकात्रिभकै केही वडाहरूमा अझै पनि खाद्यको समस्या विद्यमान रहेको बताउनुभयो ।
पछिल्लो दुई वर्षयता कोभिड–१९ को कारणले दैनिक ज्यालादारी मजदुरी गर्ने व्यक्तिहरूलाई निकै समस्या परेको बताउनुभयो ।
उहाँ कोभिड–१९ को सुरुवाति समयमा विभिन्न सङ्घसंस्था तथा स्थानीय तहहरूले खाद्यान्न वितरण गरे पनि पछिल्लो वर्ष स्थानीय पालिकाले लक्षित वर्गको लागि कुनै ठोस व्यवस्था गर्न नसक्दा त्यस्तो मानिसहरूको अधिकार सङ्कुचित हुन पुगेको बताउनुभयो ।
समूहका उपसंयोजक किरण लामिछानेले संविद्यानले तोकेको अधिकारलाई सुनिश्चित गराउनु राज्यको सबै तहको समान दायित्व र कर्तव्य भएको बताउनु भएको थियो ।