चाँगुनारायण नगरपालिकामा ०७५ साल पुसदेखि इन्सेकले लागू गरेको कियोस परियोजना बारेमा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, इन्सेक कार्यक्रम संयोजक र कियोस परियोजनाका प्रतिनिधिबीच छलफल भएको छ ।
फिनल्याण्डबाट आउनु भएका कियोस परियोजना प्रतिनिधि Miia Toikka र Kari Bottas इन्सेक केन्द्रीय कार्यालय कार्यक्रम संयोजक शुभेक्षा खड्का सहितको टोलीबीच छलफल भएको हो ।
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन पहल कार्यक्रमका लागि स्थानीय तह चाँगुनारायण नगरपालिकामा एक वर्षमा यो परियोजना लागू भएदेखि यसको मूल्याङ्कन समग्र नगरपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको बारेमा छलफल भएको थियो ।

छलफलमा कियोस परियोजना प्रतिनिधि Miia Toikka र Kari Bottas ले चाँगुनारायण नगरपालिकामा सञ्चालित परियोजनाको उपलब्धि बारे जिज्ञासा राख्नु भएको थियो । उहाँहरूले मेयर मिश्रसँग परियोजनाले पुर्याएको टेवाहरू, उपलब्धिहरू बारे चासो राख्नु भएको थियो । यसैगरी कार्यक्रम जनस्तरसम्म कसरी सञ्चालन भईरहेका छ भन्ने बारे नगरपालिकाको चासो रहेको बताइएको थियो ।
छलफलमा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले परियोजना उपलब्धिमूलक भएको बताउनुहुँदै इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी विद्यालय एवम् स्वास्थ्य केन्द्रहरूमा अनुगमन गरेर त्यसको रिपोर्ट नगरपालिकामा प्रस्तुत गर्ने गरेको जानकारी दिनुभयो । समूहले देखेको समस्या बारेमा नगरपालिकाले चासो दिँदै समस्या पहिचान गर्दै समाधानका लागि पहल गरेको बताउनु भयो ।
मानव अधिकार निगरानी समूहले पहिचान गरेका समस्याको समाधान नगरपालिका तहबाट हुनेसम्म गरेको तर कतिपय समस्याहरू आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर हुने अवस्था रहने भएकाले त्यस्ता समस्याको पहिचान गरि सम्बन्धित निकायमा समाधानको लागि पत्राचार गर्ने गरेको जानकारी दिनुभयो ।
इन्सेकका प्रतिनिधिहरूबीच पनि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलगायत अन्य मानव अधिकारका सवालका कार्यक्रममा आफै उपस्थित भएर छलफल गर्ने गरेको जानकारी गराउनुभयो । परियोजना लागू भएपछि नगरपालिकालमा धेरै विषयमा सुधार आएको बताउदै मेयर मिश्रले इन्सेकले स्वयम् सेवकका रुपमा काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
यसैबीच परियोजनाकाबारेमा मानव अधिकार निगरानी समूहसँग पनि छलफल गरिएको छ । इन्सेकले फागुन २० गते चाँगुनारायण नगरपालिकामा आयोजना गरेको छलफलमा एवम् बैठकमा परियोजना सञ्चालन भएको एकवर्ष भन्दा बढी समय भएको अवस्थामा यहाँ भएका कामको मूल्याङ्कनको अवस्थाका बारेमा छलफल भएको थियो ।
परियोजना सञ्चालन भएको चाँगुनारायण नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारकाबारेमा जिम्मेवार नियकालाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रमहरूको अवस्था, यसको कार्यान्वयन, उपलब्धी, चुनौती एवम् समस्याहरू र अनुभवका बारेमा छलफल भएको थियो ।
मानव अधिकार निगरानी समूहका सह–संयोजक अम्बिका न्यौपानेको संयोजकत्वमा बसेको बैठकमा इन्सेक कार्यालयका कार्यक्रम संयोजक सुभेच्छा खड्का, कियोस परियोजनाका प्रतिनिधिहरू समूहका सदस्यहरूको सहभागिता रहेको थियो ।
छलफलमा मानव अधिकार निगरानी समूहका सह–संयोजक न्यौपानेले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको राम्रा कार्यहरू देखेर मानव अधिकार निगरानी समूहमा उत्साह र प्रेरणा मिलेको बताउँदै इन्सेकको परियोजना र गतिविधिका कारण नगरपालिकामा सरोकारवाला निकायहरू पहिलाभन्दा अहिले आफ्नो कामप्रति जवाफदेही भएको बताउनु भयो ।
शिक्षाको अधिकारका विषयमा विभिन्न विद्यालयहरूको अनुगमनमा जादा इन्सेकप्रति आशावादी रहने गरेको मानव अधिकारका क्षेत्रमा विद्यालयमा कार्यक्रमहरू सञ्चालन गरिदिन आग्रह गर्ने गरेको जानकारी गराएको थियो । छलफलमा सहभागि सदस्यहरूले समूहलाई विभिन्न चुनौतीहरू आईपरेको बताउदै स्वयंसेवकहरू कार्यक्रम र अनुगमनमा आर्थिक समस्या समेत पर्ने गरेकाले स्थानीय तहले यस्ता समस्यामा सघाउन पलह गर्नुपर्ने बताउनु भयो ।
छलफलमा कियोस परियोजनाका प्रतिनिधि र इन्सेक कार्यालय कार्यक्रम संयोजक खड्काले परियोजना सफल बनाउन समूहले गरेको काम प्रंशसा योग्य भएको बताउनु भयो ।