INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षमा २ सय ५४ वटा मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जुनसुकै अपराधिक घटनामा पनि अपराधीलाई जोगाउन दबाब र प्रभावमा परेको पाइए कारबाही गरिने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घट्नाको वार्षिक पूर्व समिक्षा कार्यक्रममा बोल्दै उहाँले प्रहरीलाई पनि कुनै दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभयो ।

उहाँले अपराधीलाई जोगाउन जस्तो सुकै ठाउँबाट दबाब र प्रभाव आए पनि नछाडिने र दोषीलाई कारबाही गरेरै छाड्ने भनाई राख्नुभयो । उहाँले मध्यराती सडकमा एउटी महिला निर्धक्कले हिड्नसक्ने अवस्था आएपछि मात्रै शान्तिसुरक्षा भयो भन्न सकिने बताउदै यौन हिंसा र बलात्कारका लुकेका घटना बाहिर आउन थालेकाले धेरै देखिएको बताउनुभयो ।

IMG_5562

कार्यक्रममा महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले अपराधका नयाँ प्रकृतिहरू बाहिर आएको बताउँदै अपराधलाई शून्यमा झार्न निकै मुस्किल हुने बताउनुभयो । उहाँले घटना लुकेर कम देखिनुभन्दा बाहिर आएर बढी देखिनु उपयुक्त भएको बताउँनुभयो । “अझै पनि ४० प्रतिशत घटनाहरू लुकेर बसेका छन्, त्यस्ता घटनालाई बाहिर ल्याई दोषीलाई कारबाहीको दायरामा ल्याउन समुदायले सहयोग आवश्यक छ” उहाँले भन्नुभयो ।

भक्तपुरलाई अपराध मुक्त बनाउने समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई समुदाय, विद्यालयसम्म लगेको बताउँदै प्रभावकारी ढङ्गबाट सबैले काम गर्न अपराध न्यून गर्न सम्भव हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले भक्तपुर सानो जिल्ला भएकाले अपराधलाई न्यून गर्न अभियान नै सञ्चालन गर्नु पर्ने बताउनुभयो । अझै पनि भक्तपुरमा हामी सुरक्षित छौँ भन्ने अवस्था नरहेको बताउँदै उहाँले भक्तपुरलाई अपराध गर्न र अपराधी लुक्ने सुरक्षित ठाउँको रुपमा प्रयोग गर्ने खतरा रहेकाले सजग रहनु पर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधी रमेश गिरीले भक्तपुर जिल्लामा २०१९ जनवारीदेखि डिसेम्बर ३० सम्म एकवर्षको अवधिमा मानव अधिकार हननर ज्यादतीका घट्नाको विवरण प्रस्तुत गर्नुभयो । उहाँले भक्तपुरमा हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुर्व्यवाहार, बहुविवाह लगायतका २ सय ५४ घटना भएको जानकारी दिनुभयो ।

सन् २०१९ मा भक्तपुरमा गैरराज्य पक्षको परिवारजनबाट १ र अन्य दुई गरि ३ जनाको हत्या, बलात्कारबाट ३३ जना, बलात्कार प्रयासका घटनामा ३ जना महिला र बाल यौन दुव्र्यवहारमा दुई जना बालिका पीडित भएका तथ्याङ्क सार्वजनिक गरिएको छ ।

यसै गरी बहुविवाहको घटनामा १३ जना महिला पीडित भएका छन् भने मानव बेचबिखनका घटनामा एक जना, घरेलु हिंसामा १ सय ९० जना पीडित भएका छन् । राज्यपक्षबाट नौ जना विप्लव माओवादीका नेता तथा कार्यकर्ता गिरफ्तार पारिएको घटना समावेश छन् । सन् २०१८ मा हत्या, कुटपिट, बलात्कार, बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र मानव बेचबिखन लगायतका कूल २ सय ५२ वटा घटना भएको अभिलेख थियो ।

अन्य

भिडियो