बगनासकाली गाउँपालिका–७ खानीगाउँमा ज्येष्ठ अपाङ्ग तथा अशक्त नागरिकहरूका लागि घरघरमा स्वास्थ्य सेवा कार्यक्रम माघ १८ गतेबाट सुरू भएको छ ।
खानीगाउँ स्वास्थ्य चौकीको आयोजना, बगनासकाली गाउँपालिकाको समन्वय र इन्सेक आवद्ध मानव अधिकार निगरानी समूहको सहयोगमा अभियान सुरू भएको हो ।
यो कार्यक्रम सञ्चालनका लागि मानव अधिकार निगरानी समूहले यसअघि सरोकारवालाहरूसितको अन्तरक्रिया गरी कार्ययोजना समेत बनाएको थियो ।
अभियानको पहिलो दिन साविकका वडा नं. १ र २ का ६० वर्ष माथिका ५० जना बढी लक्षित समूहको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि आवश्यक परामर्श दिइएको छ ।
अभियानको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले अपाङ्गता भएकै कारण वा उमेर घर्केपछि बिरामी हुँदा उपचारको लागि स्वास्थ्यसंस्थामा जानका लागि अप्ठेरो हुनेहरूका लागि यसप्रकारको अभियानले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
अध्यक्ष बस्यालले यसप्रकारको अभियानले स्थानीय सरकार घर घरमा आएको महसुस हुने भएकोले पनि गाउँपालिका भित्रका अन्य वडाहरूमा पनि विस्तार गर्दै लगिने बताए ।
बगनासकाली स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले स्वास्थ्यकर्मीहरूले सक्नेहरूलाई टोलटोलको पायक पर्ने स्थानमा जम्मा गरेर र नसक्नेहरूलाई घरघरमै पुगेर स्वास्थ्य परिक्षणसँगै औषधि वितरण गरिनुका साथै थप परामर्श समेत दिइने बताए ।
उनले गाउँपालिका भित्रका सबै स्वास्थ्य चौकीमा यो वर्षबाट सुगर, ब्लड प्रेसरको औषधि निशुल्क रूपमा वितरण गर्न थालिएको समेत जानकारी गराए ।
इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाले पछिल्लो समय रोजगारी वा पढाइको सिलसिलामा युवाहरू घर बाहिर रहेको सन्दर्भमा गाउँघरमा अधिकांश बृद्धबृद्धाहरू रहेको र स्वास्थ्कर्मीहरू घरघरमा पुग्दा आफ्नै छोराछोरी आए जस्तो अनुभूति हुने भएकोले यो कार्यक्रम निकै प्रभावकारी हुने बताए ।
स्वास्थ्यचौकी प्रमुख जीवलाल बस्यालले स्वास्थ्य चौकीका कर्मचारीहरू दिन अनुसार टोलटोलमा पुग्ने गरेको बताए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका, मानव अधिकार निगरानी समूहका प्रतिनिधि, पत्रकारलागयतको सहभागिता रहेको थियो ।




यज्ञमूर्ति तिमिल्सिना