इन्सेकको पहलमा पाल्पा जिल्लामा गठन भएको बेद युवा समूहले पुस्तकालय अभियान सुरू गरेको छ ।
समूहले बगानसकाली गाउँपालिका–८ बराङ्दीमा आगामी वर्षदेखि पुस्तकालय संचालन गर्ने गरी अभियान संचालन गरेको समूहका संस्थापक अध्यक्ष बरुण बस्यालले बताउनुभयो ।
इन्सेकको पहलमा इएलपि परियोजना अन्तर्गत २०७३ सालमा गठन भएको यो युवा समूह पाल्पामा इएलपि परियोजना कार्यान्वयनमा नभएपनि पूर्ण रुपमा सक्रिय रहेको छ । सुरुवाती समूहमा सामूहिक अदुवा खेतीसँगै युवाका क्षेत्रमा विभिन्न रचनात्मक अभियानहरु सञ्चालन गर्दै आएको यो युवा समूहले बराङ्दीमा आधुनिक प्रविधि सहितको पुस्तकालय सञ्चालन गर्ने गरी अभियान अगाडि बढाएको हो ।
बगनासकाली पुस्तकालय तथा सामाजिक केन्द्र अभियान अन्तर्गत हालसम्म १ लाख १९ हजार ७५ रुपियाँ नगद सङ्कलन भइसकेको र बाँकी १ लाख ५२ हजार १ सय ११ रुपियाँ तथा इट्टा, सिमेन्ट, ढोका लगायतका सामग्रीहरु समेत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त भएको बस्यालले बताउनुभयो ।
पुस्तकालयमा बगनासकाली गाउँपालिका अन्तर्गत प्रकाशन भएका पुस्तकहरू, प्रतिवेदनहरू, गाउँपालिकाको नीति, योजना, बजेट र कार्यक्रमहरूसँग सम्बन्धित सामग्रीहरू तथा अन्य सरकारी र गैरसरकारी संघसंस्थाहरू मार्फत प्रकाशन भएका र गरिने पुस्तक र सामग्रीहरू, विश्व प्रसिद्ध र जानकारीमुलक पुस्तक र प्रतिवेदनहरू, धर्म सँस्कृति र मौलिकताको जगेर्ना गर्ने खालका पुस्तकहरू, कृषि, पशुपक्षी र मानव अधिकारसँग सम्बन्धित पुस्तकहरू राख्ने गरी पुस्तकालय निर्माण गर्न लागिएको बस्यालले बताउनुभयो ।
त्यस्तै गाँउपालिका अन्तर्गत रहेका ऐतिहासिक र पुरातात्विक वस्तु तथा सामग्रीहरुको संरक्षण र प्रचारप्रसार गर्न संग्रहालयको स्थापना गर्ने, स्काउट, रेडक्रस र युनेस्को जस्तासंस्थाहरूसँग समन्वय गरी बालबालिकाहरू र युवाहरूका लागि सूचना आदानप्रदान गर्ने स्थलका रूपमा विकास गर्ने, लोक संस्कृतिको संरक्षणका लागी अन्तरपुस्ता संस्कृति हस्तान्तरणका कार्यक्रमहरू सञ्चालन गर्ने । (साप्ताहिक भजन, साँस्कृतिक गीत र नाँचको प्रशिक्षण र प्रस्तुती गर्ने ), बालबालिका, किशोरकिशोरी र युवाहरूको क्षमता र व्यक्तित्व विकास गरी जीवनवृत्ति अभिमुखीकरण मार्फत युवा स्वरोजगार प्रर्वद्धन गर्ने, गाँउपालिकाको भौगोलिक सीमा भित्र कुनै सामाजिक संघसंस्था, सरकारी तथा गैरसकारी संस्थाहरू वा दातृ निकायसँग समन्वय गरी बालबालिका, युवा र जेष्ठनागरिकसँग सम्बन्धित परियोजना, अभियान र कार्यक्रहरू सञ्चालन गर्ने गरी उक्त पुस्तकालय तथा सामाजिक केन्द्रको स्थापनाको तयारी गरिएको बस्यालले बताउनुभयो ।
युवा समूहले सञ्चालन गरेकोे यो अभियानमा स्थानीय जनप्रतिनिधिहरुले समेत साथ दिने प्रतिबद्धता गरेका छन् । बगनासकाली गाउँपालिका-८ की कार्यबाहक वडाध्यक्ष उमकला अर्याल न्यौपानेले युवा समूहले स्थापनाको समयदेखि नै महत्वपूर्ण कार्यक्रम गर्दै आएको र यो पुस्तकालय अभियान पनि धेरै राम्रो कार्यक्रम भएकोले स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने बताउनुभयो ।