अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार २२ गते खैरहनी र राप्ती नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको अवस्थाबारे छलफल गरेको छ ।
खैरहनी र राप्ती नगरपालिकामा बिगत दुई वर्षदेखि इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको क्षेत्रमा जिम्मेवार निकायलाई जवाफदेशी बनाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले राप्ती नगरपालिका प्रमुख प्रभा वराल र खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरीसँग भेटघाट गरी पालिकामा मानव अधिकार अवस्थाबारे जानकारी लिनु भएको थियो ।
छलफलमा खैरहनी नगरपालिका प्रमुख चौधरीले मानव अधिकार संरक्षण र सम्वद्र्धनमा आफ्नो नगर संवेदनशील भएको बताउनुभयो । उहाँले बालबालिका, महिला, दलित जुनसुकै जात वा लिङ्गमा आधारित भई गरिने मानव अधिकार उल्लङ्घनमा पीडितको न्यायको लागि नगरपालिका लड्ने गरेको बताउनुभयो ।
दुवै पालिका प्रमुखले आफ्नो स्थानीय तहमा अल्पसङ्ख्यक जनजाति चेपाङ र प्रजाकाे आवासको अधिकारमा पहुँच नभए पनि पालिकाले क्रमश व्यवस्थित र सुरक्षित आवासको क्षेत्रमा काम गरिरहेको बताउनु भएकाे थियो ।
उहाँहरूले पालिमा खाद्यको क्षेत्रमा आत्मनिर्भर भएको र शिक्षाको पहुँचमा सबै बालबालिका रहेको पनि छलफलमा बताउनु भएको थियो । कोभिड १९ सङ्क्रमणको जोखिममा परेका दुवै पालिकाले यसलाई नियन्त्रण गर्न सफल भएको पनि छलफलमा बताइएको थियो ।
राप्ती नगरपालिका प्रमुख बरालले मानव अधिकारका विषयमा आफूहरू गम्भीर रहेको बताउनुभयो । उहाँले महिला, बालबालिका, अल्पसङ्ख्यक, जनजातिका सवालमा पालिकाले पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्दै आएको बताउनु भयो ।
इन्सेक बाग्मती प्रदेश संयोजक गौतमले पालिकाहरू उत्कृष्ट वा कमजोर भन्ने विषय विकास पूर्वाधार मात्र नभई मानव अधिकारको सवाल पनि मापदण्डमा रहेको बताउनुभयो ।
त्यस्तै इन्सेकको आयोजनामा मानवअधिकार संरक्षण र सम्बर्धनका लागि मिडिया साझेदारी बैठक २२ गते सम्पन्न भएको छ । मिडियामार्फत मानव अधिकारको मुद्दाहरूको उठान, जानकारी र सचेतना के कस्तो रहेको भन्ने बारे छलफल भएको थियो । कार्यक्रममा चितवन र मकवानपुरका २० जना पत्रकारहरुको उपस्थिति रहेको थियो ।
