INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा गठन भएको युवा समूहद्वारा सामूहिक अदुवाखेती

सधैँ किताब र कपी बोकेर क्याम्पस पढ्न जाने यवाहरू वैशाख ८ गते भने १० नबज्दै कुटो कोदालो बोकेर बारीमा आइसकेका थिए । युवाहरू मात्रै हैन उनीहरूका अभिभावक र छिमेकीहरू समेत युवाहरूसँगै बारीमै आइपुगे ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदीमगर सहित अन्य व्यक्तिहरू समेत सोही बारीमै भेला भए । अरू दिन आफ्नै घरबारीमा व्यस्त हुने यस क्षेत्रका व्यक्तिहरूले पनि वैशाख ८ गतेका दिन सामूहिक कार्यका लागि बिताए ।

इन्सेकको पहलमा बेद माध्यमिक विद्यालय बगनासकाली गाउँपालिका-८ बराङ्गदीमा गठन भएको बेद युवा समूहले बराङ्गदीको न्यौपाने डाँडामा सरू गरेको सामुदायिक अदुवा खेती कार्यक्रमको अदुवा रोप्दै गर्दाको दृश्य हो यो ।

युवा समूहले बगनासकाली गाउँपालिकाको सहयोगमा बराङ्गदीमा तीन रोपनी बारी भाडामा लिएर अदुवा रोपेको हो । अदुवा राप्ने कार्यक्रमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले युवाहरूले यसरी सामूहिक खेतीतर्फलाग्नु सराहनीय भएको बताए । उनले युवा समूहलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको समेत बताए ।

उपाध्यक्ष सरस्वती चिदीमगरले अहिलेको युवा पुस्ता यसरी सामूहिक खेतीतर्फलाग्न निकै रामो विषय भएको बताइन् । बगनासकाली गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष जिसीले बगनाकाली गाउँपालिकामा कृषि कार्यका लागि रामो सम्भावना रहेको बताउँदै कृषिबाट समुदाय स्तरको आय आर्जनमा वृद्धि हुने बताए । उनले उक्त अदुवा रोप्ने बारीलाई एउटा नमूना पकेट क्षेत्रको रूपमा अगाडि बढाइने बताए ।

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी मगर, बगनासकाली गाउँपालिका- ८ का अध्यक्ष गणेशप्रसाद बस्याल, वडा नं ७ का अध्यक्ष गुनबहादुर बुढाथोकी, वडा सदस्यहरू मिनप्रसाद न्यौपाने, रिता भट्टराई, कृषि शाखा प्रमुख सन्तोष जिसी, इन्सेक जिल्ला सहजकर्ता यज्ञमूर्ति तिमिल्सना, बराङ्गदीका सामाजिक परिचालक दयाराज न्यौपाने, युवा समाजसेवी प्रविन भट्टराईलगायतले संयुक्त रूपमा अदुवा रोपेका थिए ।

बगनासकाली गाउँपालिकाका कृषि प्राविधिक नारायण न्यौपानेको सहयोग लिएर युवा समूहमा आवद्ध युवाहरू र स्थानीय व्यक्तिहरूले दिनभरि नै अदुवा रोपेका थिए । युवाहरूले अदुवा रोपेसँगै अदुवाका लागि आवश्यक छाप्रो व्यवस्थापन समेत गरेका छन् ।

बेद युवा समूहका अध्यक्ष बरूण बस्यालले युवाहरूले पनि समुदाय स्तरमा रचनात्मक कार्य गरेर देखाउन सक्छन् भन्ने नमूना प्रदर्शनीका लागि युवा समूहले यस प्रकारको अभियान सुरू गरेको बताए ।

कक्षा ११ र १२ मा पढ्ने युवाहरूले स्थानीय सरकारसँगको समन्वयमा यसरी सामूहिक खेती गरिएको र यसबाट प्राप्त आम्दानीबाट युवा समूहले विभिन्न रचनात्मक अभियानहरू सञ्चालन गर्ने उनले बताए ।

युवा समूहले गठन भएदेखि नै विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको बताउँदै अध्यक्ष बस्यालले युवा समूहमा आबद्ध भएर काम गर्न थालेपछि समुदायले आफूहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको अनुभव सुनाए ।

युवा समूहले यसअघि सामूहिक अदुवा खेती कसरी गर्न सकिन्छ ? भन्ने विषयमा स्थलगत तालिम समेत लिएका थिए । यो युवा समूह गठन भएपछि समुदाय स्तरमा रचनात्मक क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ ।

युवा समूहले यसअघि समुदाय स्तरमा युवा र प्रजनन् स्वास्थ्य, कृषि सम्भावना र युवा लगायतका विषयमा अन्तरक्रिया गर्नुका साथै यही समूहले गत फागुन महिनामा लागू औषध र यसले पार्ने प्रभावका विषयमा स्थानीय स्तरमा सडक नाटक देखाएर स्थानीय बासिन्दाहरूको मन जितेको थियो ।

कक्षा ११ र १२ मा पढ्ने युवाहरूले स्थानीय सरकारसँग समन्वय गरेर यसरी सामूहिक अदुवा रोप्ने काम गरेर देशमै नमूना कार्यको सुरूवात गरेका छन् ।

1

1

1

1

1

1

1

1

1

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो