अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुरधामको आयोजना तथा गौशला नगरपालिकाको समन्वयमा मङ्सिर ११ गते स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले नागरिकको अधिकार खोज्न इन्सेक अभियानले उत्प्रेरित गर्ने बताउनुभएको छ ।
उपमेयर लामाले नेपालको कानुनले दिएको अधिकारको सम्बन्धमा स्थानीय नागरिकमा कम जानकारी भएको वर्तमान परिवेशमा हरेकको उचित भु्मिका निर्वाह भएमात्र सो कार्यमा सफलता हासिल हुने उहाँको भनाइ छ ।
उहाँले समाजमा दबिएको आवाज बुलन्द गर्नका लागि अधिकारवाला एवम् नागरिक समाजलाई अग्रणी भुमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।
पीछडिएको समाजलाई नपाले शिक्षा, स्वास्थ्य लगायतका सवालमा सदैव सकारात्मक भुमिका निर्वाह गर्दै आएकाले इन्सेकको यस कार्यक्रमले नपालाई अझ सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उपमेयर लामाले इन्सेकको यस कार्यक्रमले जनताले आफ्ना अधिकार खोज्नको लागि उत्प्रेरित गर्ने भएकोले पछाडि परेका समुदायलाई अगाडि बढ्न सहज हुने बताउनुभयो ।
उहाँले यस नपाको मानव अधिकार समूह, इन्सेकको सहयोगमा क्षमतावान बनी समाजमा जनचेतना फैलाउन सहयोग पु¥यायोस् भनी शुभकामना समेत दिनुभयो ।
कार्यक्रममा नपाका प्रवक्ता तथा वडा अध्यक्ष भोज बहादुर दर्लामीले इन्सेकले आफ्नो नपालाई कार्यक्रम सञ्चालनको लागि छनौट गरेकोमा धन्यवाद दिँदै टोल–टोल र बस्ती–बस्तीमा मानव अधिकारका अभियान सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
उहाँले यस नपाका जनताले अधिकार माग्न आउन थालेपछि बल्ला परियोजनाको उपलब्धि हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले स्थानीयलाई सचेत पार्न र जिम्मेवार निकायलाई जबाफदेही बनाउनका लागि इन्सेकको यस परियोजनाले मुख्य भुमिका खेल्ने बताउनुभयो ।
पञ्चायतकालमा स्थापना भएको यो संस्थाले देशमा प्रजातन्त्र, लोकतन्त्र स्थापना गर्दै अब जनताको अधारभुत अधिकार स्थापना गर्नका लागि गाँउगाँउ टोलटोलमा पुगि चेतना फैलाउने कार्यमा जुटेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रम फोकल पर्सन जागेश्वर यादवले संविधानले मौलिक हकको रूपमा प्रत्याभुत गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका बारेमा स्थानीय नागरिकलाई सचेत बनाउने र सेवाप्रदायकलाई जिम्मेवार र जबाफदेही बनाउन यस परियोजना सञ्चालन गरिएको बताउनुभयो ।
नगरस्तरीय मानव अधिकार समूह गठन
यसै कार्यक्रममा विन्देश्वर साहको अध्यक्षतामा नगरस्तरीय मानव अधिकार समूह गठन समेत गरिएको छ ।
नवगठित समूहको उपाध्यक्षमा सविताकुमारी महतो, सचिवमा धनवीर कुशवाहा, कोषाध्यक्षमा रुद्रबहादुर बुर्जा रहनुभएको छ ।
सदस्यहरुमा प्रेमाकुमारी झा, लिलाधर महतो, टङ्कमाया लामिछाने, नरेन्द्र महतो, सुमिरा तिमल्सिनालगायत रहनु भएको छ ।



