खाँडादेवी गाउँपालिका–६ माकादुममा आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम ०७८ फागुन ५ गते सम्पन्न भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, नागरिक अगुवा तथा गाउँपालिकाका प्राविधिकको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै खाँडादेवी गाउँपालिकाका इञ्जिनियर इश्वर खड्काले भूकम्पपछिको पुनर्निर्माण फाइल अझै पनि प्राधिकरणका प्राविधिकले गाउँपालिकालाई हस्तान्तरण गरिनसकेको बताउनुभयो ।
उहाँले कतिपय लाभग्राहीले नक्सा पास नै नगरी घर बनाएका र अहिले ऋण लिनको लागि नक्सा पास गरिदिनु भन्दै आउँदा समस्या भएको बताउनुभयो ।
उहाँले आवश्यक प्रक्रिया पूरा गरेर मात्र निर्माणको काम गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
खाँडादेवी गाउँपालिका–६ का वडाध्यक्ष पुष्कर कार्कीले वडा नं ६ मा भूकम्प पछिको पुनर्निर्माण काम लगभग सकिएको बताउनुभयो ।
कतिपय लाभग्राहीले बारम्बार उजुरी गर्दा पनि लाभग्राही सूचीमा नपरेको कारण उहाँहरू सो सुविधाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो ।
खाँडादेवी गाउँपालिका–६ का कुलबहादुर खत्रीले भूकम्पको कारण घर क्षति भएका केही लाभग्राहीले सेवा नपाएको भन्दै त्यस्ता पीडित अन्यायमा परेका बताउनुभयो ।
अर्का सहभागी गोपाल नेपालीले सरकारले लागु गर्न लागेको खरको छाना विस्थापन कार्यक्रममा सबै घर नसमेटिएका भन्दै सो कार्यक्रममा सबैलाई सहभागी गर्न माग गर्नुभयो ।
गाउँपालिकामा जम्मा एक सय घरका लागि मात्र सो कार्यक्रम आएको बताउँदै उहाँले त्यस्ता खरका छानो भएको घर गाउँपालिकामा अझै धरै भएका बताउनुभयो ।
सो कार्यक्रम अन्तर्गत सरकारले जस्ताको छानो हाल्न ५० हजार रुपैँया अनुदान दिने कार्यक्रम ल्याएको छ । कार्यक्रममा ६ महिला सहित २५ जनाको सहभागिता रहेको थियो ।