०८२ पुस ४ गते वीरेन्द्रनगर नगरपालिका–१२ की २१ वर्षीया प्रेमकला रोकायलाई ‘ बोक्सी’ को आरोप लगाउँदै अमानवीय व्यवहार र यातना दिएको आरोपमा चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेहरूमा वीरेन्द्रनगर नगरपालिका—१२ की २१ वर्षीया बन्दना बोहरा, सोही ठाउँकी २० वर्षीया रिता बुढा, २१ वर्षीय जय बहादुर रोकाया र १८ वर्षीया अनिता बोहरा रहेका छन् । आरोपित सबै जनाको स्थायी घर जुम्लाको तिला गाउँपालिका—२ रहेको प्रहरीले जनाएको छ ।
‘उनीहरू आफैँ धामी–झाँक्री बनेर काम्दै प्रेमकलाको शरीरमा चामलले हिर्काउने र तातो पन्यूले शरीरका विभिन्न भागमा डाम्ने जस्ता कार्य गरेपछि पीडितको उजुरीको आधारमा पक्राउ गरेका हौँ,’जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी सुधिरराज शाहीले भन्नुभयो ।
पीडितले पुस ५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिनुभएको थियो । उहाँको पुस ५ गते प्रदेश अस्पतालमा स्वास्थ्य उपचार भयो ।