दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड लाग्न थालेको छ । सरकारले मतदातासम्बन्धी नयाँ नियम जारी गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्यामा वृद्धि हुन थालेको घोराहीमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभयो । दसैँअघि दुई दिन र असाेज २० गते गरी १ सय ३३ जना नयाँ मतादाता थपिएको कार्यालयले जनाएको छ । १ सय ६३ जनाले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन अग्रिम फारम भरेको र बायोमेट्रिक बाँकी रहेको पनि कार्यालयको भनाइ छ । मतदाता नामवली दर्तालाई पालिकास्तरमा बढाउन सके जिल्लामा उल्लेख्य मात्रामा नयाँ मतदाता थपिने कार्यालयका सूचना अधिकारी कुँवरले बताउनुभयो । पालिकास्तरमा मतदाता नामावली दर्ता सङ्कलनको माग गरेका कारण २०७९ को दाङमा निर्वाचनमा ५४ हजार नयाँ मतदाता थपिएका थिए । गत २०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट १ लाख ३४ हजार ७ सय ३३ क्षेत्र नम्बर २ बाट १ लाख ३३ हजार ७ सय ४८ र क्षेत्र नम्बर ३ बाट १ लाख ४६ हजार ४ सय ७५ गरी कूल ४ लाख १४ हजार ९ सय ५६ मतदाता रहेका थिए ।
रासस