INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक अनलाइनको २२ वर्षे यात्राः मानव अधिकारको प्रतिबद्धता र चुनौतीहरू

आजबाट इन्सेक अनलाइन २२ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा इन्सेक अनलाइनले मानव अधिकारको क्षेत्रमा निरन्तरता र प्रतिबद्धता सहित गरेको कार्यलाई हामी गर्वका साथ स्मरण गर्दछौँ ।

२०६१ साल साउन १६ गते इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको स्मृतिमा अनलाइन प्लेटफर्मको शुरुआत भएको थियो। यसले मानव अधिकारका समाचार, विचार र सूचनालाई व्यापक र पारदर्शी तरिकाले प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । हाम्रो मुख्य उद्देश्य समाजमा जागरूकता फैलाउने, मानव अधिकार संस्कृतिको विकास गर्न, मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको अभिलेखीकरण गर्दै सरकार तथा सम्बन्धित निकायहरूलाई जवाफदेही बनाउने रहेको छ । यस लक्ष्यलाई सार्थकता प्रदान गर्न हामीले अनलाइन माध्यमलाई सशक्त र प्रभावकारी बनाउने दिशामा निरन्तर प्रयास गर्दै आइरहेका छौं।

विगत २१ वर्षको अवधिमा हामीले मानव अधिकार उल्लङ्घन तथा ज्यादती र सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारसँग सम्बन्धित घटनाहरूलाई समाचारको रुपमा प्रकाशन गर्दै आएका छौं। यस डिजिटल प्लेटफर्मले सामाजिक परिवर्तनको निम्ति एक महत्वपूर्ण माध्यमका रूपमा काम गरेको छ । हाम्रो स्रोत व्यक्तिहरू, स्वयंसेवकहरू तथा मानव अधिकारकर्मीहरु देशका ७७ जिल्लामा सक्रिय छन् । उनीहरूले स्थानीय तहबाट घटना सङ्कलन, पुष्टि र पुनरपुष्टी गरी प्रदेश कार्यालयहरूमा पठाउँदै आएका छन्। यस प्रकारको समर्पण र लगनशीलता नै हाम्रो अभियानको मुख्य शक्ति हो।

यहाँ उपलब्ध सामग्रीहरू समाचार, विश्लेषण, अन्तरवार्ता, प्रतिवेदन र हाम्रो प्रकाशनहरू जस्तै प्राची संचेतना त्रैमासिक, नेपाल मानव अधिकार वर्ष पुस्तक, श्रव्यदृश्य सामग्री सबै मानव अधिकारको संरक्षण र चेतना फैलाउने अभिप्रायले तयार पारिएका हुन् । हामी पूर्णतः तथ्यपरकता र आधिकारिकता सुनिश्चित गर्न प्रतिबद्ध छौं । यसले हाम्रो विश्वसनीयता र पत्रकारिताको आदर्शलाई कायम राख्दै आएको छ ।

हामीलाई विश्वास छ कि, संवेदनशीलता र सत्यताको प्रतिबद्धता नै मानव अधिकारको संरक्षणको प्रमुख आधार हो। यस यात्रामा, तपाईंहरूको सुझाव, आलोचना र रचनात्मक सहयोगले हाम्रो कार्यलाई थप परिष्कृत र प्रभावकारी बनाउने छ।

अन्ततः, २१ वर्षको यात्रामा हामीले न्याय, समानता र मानव अधिकारको संरक्षणका लागि आफ्नो भूमिका निर्वाह गर्दै आएको छौं। यस यात्रामा हाम्रा स्रोत व्यक्तिहरू, स्वयंसेवकहरू तथा मानव अधिकारकर्मीहरु, कर्मचारी, शुभचिन्तक र पाठकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। तपाईंहरूको निरन्तर साथ र समर्थनले हामीलाई यस अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउने प्रेरणा प्रदान गर्दछ।

हामी आशा गर्छौं कि, भविष्यमा पनि तपाईंहरूको साथ र समर्थनले मानव अधिकारको क्षेत्रमा हाम्रो प्रतिबद्धता अझ प्रगाढ र सफल हुनेछ।

अन्य

भिडियो