INSEC Online

📅 २०८३ जेष्ठ २१

शारीरिक रुपले अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान

वालिङ नगरपालिका–६ की १८ वर्षीया सीता पाण्डे, सोही नगरपालिका–३ का १७ वर्षीया किशमाया गुरुङलाई इलाका प्रशासन कार्यालय वालिङले घरमै गएर नागरिकता प्रदान गरेको छ । त्यस्तै भिरकोट नगरपालिका–५ का ६७ वर्षीय चोकबहादुर थापालाई नेपाली नागरिकताको प्रतिलिपी प्रदान गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख सरिता चापागाई भारीले जानकारी दिनुभयो ।

नागरिकता प्रमाणपत्र नहुँदा उपचार प्रक्रियालगायत आवश्यक सेवा सुविधा लिन कठिनाइ भएको जानकारी आएपछि घरमा गएर नागरिकता प्रदान गरिएको इलाका प्रशासक चापागाईले जानकारी दिनुभयो । नागरिकको दुःखमा साथ दिने प्रशासनको दायित्व भएकाले नै नागरिकले पाउने सेवाबाट बञ्चित हुन नपरोस् भनेर घरमा पुगेको उहाँले बताउनुभयो ।

नागरिकता प्रदान गर्ने सहज व्यवस्था मिलाउन वडा कार्यालयले समन्वय गरेको वालिङ नगरपालिका–६ का वडाध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनु भयो । अशक्तलाई सहज रूपमा कार्यालयसम्म लैजान समस्या भएपछि प्रशासनलाई अनुरोध गरिएको र प्रशासनले पनि सहजीकरण गरेर घरमै आएर नागरिकता दिएको उहाँको भनाइ छ ।

 

अमृतप्रसाद पौडेल

अन्य

भिडियो