अपाङ्गता भएका व्यक्तिहरुका लागि निर्माण गरिएको पहुँचयुक्त सहायता कक्ष कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले बैठक कक्ष बनाउने तयारी गरेपछि अपाङ्गता भएकाहरूले विरोध जनाएका छन् ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय परिसरमा निर्माण गरिएको अपाङ्गता सहायता कक्ष ०८२ कात्तिक १७ गते प्रदेश सरकारलाई हस्तान्तरणपछि प्रदेश सरकारले सरकारी बैठक कक्ष बनाउने तयारी गरेको छ ।
पहुँचयुक्त शौचालयसहितको अपाङ्गता हेल्प डेक्सलाई मन्त्रालयले बैठक कक्ष बनाउने तयारी गरेकोप्रति अपाङ्ग महासङ्घले विरोध जनाएको छ ।
अपाङ्ग महासङ्घ कोशी प्रदेशका अध्यक्ष नविनचन्द्र ढुङ्गलेले अपाङ्गता सहायता कक्षलाई मन्त्रालयको बैठक कक्ष बनाउने तयारी गरेकोप्रति आफूहरूको आपत्ति रहेको बताउनु भयो । अध्यक्ष ढुङ्गलले भन्नुभयो,‘ जुन प्रयोजनका लागि भवन निर्माण गरिएको हो सोही अनुसारको प्रयोग हुनुपर्छ । टेण्डर अपाङ्गता सहायता कक्ष निर्माण गर्ने भनेर गर्ने अहिले आएर मन्त्रालयको बैठक कक्ष बनाउने भनिएको छ । त्यो सरासर गलत छ । हाम्रो यसमा आपत्ति छ ।’
अपाङ्गता पुर्नस्थापनाको क्षेत्रमा कार्यरत संस्था करणा फाउन्डेसनले निर्माण गरिदिएको पहुँचयुक्त सहायता कक्षलाई सामाजिक विकास मन्त्रालयले सरकारी बैठक कक्ष बनाउने भनेपछि अपाङ्ग महासङ्घले विरोध जनाएको करूणा फाउण्डेसन नेपालका निर्देशक योगेन्द्र गिरीले बताउनु भयो । अध्यक्ष गिरीले मन्त्रीले बैठक कक्ष साँघुरो भएको र अपाङ्गता सहायता कक्षलाई सरकारी बैठक कक्ष बनाउने भनेपछि अपाङ्ग महासङ्घले आपत्ति जनाएको बताउनु भयो ।
कोशी प्रदेश, सामाजिक विकास मन्त्रालय परिसरमा निर्माण गरिएको अपाङ्गता सहायता कक्षले सरकारी सेवा लिन आएका अपाङ्गता भएका व्यक्तिहरूका लागि सेवा प्राप्तिमा सहजीकरण गर्नेछ ।
विनोद सुवेदी