कुशे गाउँपालिका–३ डाँडाभौतास्थित ३ नम्वर वडा कार्यालय रहेको भवन माघ ७ गते राति अज्ञात व्यक्तिको समूहले आगजनी गरेका छन् ।
उक्त समूहले वडा कार्यालयमा रहेका कम्प्यूटर तीन थान, प्रिन्टर दुई थान, पाँच सय वाटको सोलार प्यानल तथा सोलार ब्याट्री, ५७ ओटा प्लास्टिक कुर्सी, राम्रो कुर्सी दुई ओटा, टेबुल, तीन ओटा, स्टिल दराजलगायत कार्यालयमा रहेका सम्पूर्ण कागजातहरू कार्यालयको कोठाबाट बाहिर निकालेर आगजनी गरेको वडा अध्यक्ष टेक बहादुर हमालले बताउनु भयो ।
वडा कार्यालयको तीन कोठे भवन समेत आगजनीबाट पूर्ण रुपमा क्षति भएको छ भने वडा कार्यालयमा मालपोत कर बापत उठेको करिब ५० हजार रुपियाँ र सामाजिक सुरक्षा भत्ता बुझाइएको भरपाई समेत जलेर नष्ट भएको वडा अध्यक्ष शाहले जानकारी दिनु भयो ।
घटनास्थलमा अर्छानी प्रहरी चौकीका सई ईश्वरी शाहीको नेतृत्वमा प्रहरी टोली पुगेर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले जानकारी दिनु भयो । डिएसपी श्रेष्ठले घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिनुभएको छ ।
घटनाका सम्बन्धमा कुनै पक्षले जिम्मेवारी लिएको छैन ।