INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागी पीडित परिवार राहतको पर्खाइमा

खार्पुनाथ गाउँपालिका–४ माझाँ गाउँमा ०८२ कात्तिक २६ गते भएको आगलागीपछि शोभनकुमार रावतको चार सदस्यीय परिवार खुला आकाशमुनि बस्न बाध्य छ । घर पूरै नष्ट भएपछि मानव जीवनका आधारभूत अधिकार बासस्थान, खानपान र सुरक्षामा समस्या भएको छ ।

आगलागीलबाट खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, गरगहना, नगद लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको रावतले बताउनु भयो । ‘न त खाने अन्न छ, न त लगाउने कपडा । सहकारीबाट घर खर्चका लागि लिएको ७ लाख रुपैयाँ समेत जल्यो,’ उहाँले भन्नुभयो, ‘छोराछोरी र हाम्रो बिचल्ली भएको छ ।’

उहाँका अनुसार आगलागिबाट २०–२५ लाख रुपियाँ बराबरको क्षति भएको छ । पीडित परिवारले तत्काल उद्धार, अस्थायी बासस्थान, खाद्यान्न र राहतका लागि आग्रह गर्दा पनि स्थानीय तह र सम्बन्धित सरकारी निकायले कुनै सहयोग नगरेको रावतको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोखरेलका अनुसार आगलागीमा ७ लाख ५० हजार रुपियाँ नगद, लत्ताकपडा, भाँडा, १७ ओटा ऊनका लिउ, पाँच थान ब्लाङ्केट, कम्बल, गलैंचा, दराज २ थान, खाट तीन थान, विभिन्न अन्नपात (कोदो १० क्विन्टल, चिनि ३ क्विन्टल, धान २ क्विन्टल, मकै ७ क्विन्टल, गहुँ ७ क्विन्टल, उवा १ क्विन्टल) जलेर पूर्णरूपमा नष्ट भएको छ । आगोले बासस्थान र जीविकोपार्जनका सबै साधन गुमाएका रावत परिवार तत्काल आकस्मिक राहत, सुरक्षित आवास, आर्थिक क्षतिपूर्ति र मनोसामाजिक सहयोग पाउने आशामा छन् ।

नन्द सिंह

अन्य

भिडियो