गढवा गाउँपालिका– १ जेठान गाउँस्थित राप्ती नदि किनारमा पार्किङमा राखिएका पाँच वटा स्काइभेटरमा जेठ २५ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।
कल्याणकोट–कालाकाटे गढवा हुदै सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग भइरहेका बज्रगुरु कान्छाराम कन्ट्रक्सनका बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा अनटेष्ट स्काभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका एसपी गणेश चन्दले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चार वटा स्काइभेटर पूर्णरुपले जलेको र एउटा आंशिकरुपमा जलेको छ । राती एक्कासी आगो बलेको देखेपछि निभाउने प्रयास गर्दा नसकिएको घटनास्थलमै रहेका निर्माण कम्पनीका प्रतिनिधि बलबहादुर चपाइले बताउनु भयो । चपाइका अनुसार एक महिनाअघि अज्ञात नम्बरबाट फोन गरेर चन्दा माग गरेपछि दिन नसक्ने भनिएको थियो ।
पाँच वटा स्काभेटरमा आगजनी गर्न समूह नै आएको हुनसक्ने र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।