INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षा भत्ता वितरण हुँन नसक्दा सेवाग्राही समस्यामा

स्थानीय तहको निर्वाचन सम्पन्न भएर नगर तथा गाउँपालिकामा जनप्रतिनिधिहरू आएको १० महिना बितिसक्दा समेत सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।

जिल्लाका १० वटै स्थानीय तहमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलालगायत समाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीले अन्तिम चौमासिक बित्नै लाग्दासमेत भत्ता नपाए पछि समस्यामा परेका हुन् ।

“सरकारले दिएको बृद्धभत्ताले नुनतेल र बिरामी परेको बेला औषधि ल्याउन हुन्थ्यो यस वर्ष त भत्ता पनि पाइएन, सारै समस्या परेको छ ।”-दोगडाकेदार गाँउपालिका-३ कटौजपानीका कमली दमाईले भनिन् ।

दोगडाकेदार गाउँपालिकामा माथिबाटै समाजिक सुरक्षा बापतको रकम नआएकाले अझै वितरण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीको भनाई छ । “हामीहरू निर्वाचित भएपछि उक्त रकम नआउँदा समस्या आएको छ । भत्ता पाउने व्यक्तिहरूले पनि पटकपटक सोध्ने गर्छन् । तर भत्ताको रकम नआउँदा वितरण गर्न सकिएको छैन ।”-कार्कीले भने-“अब त नागरिकहरूले पनि हामीहरूलाई दोष लगाउँछन् । हाम्रो समस्या कसले बुझ्ने ?”

पञ्चेश्वर गाउँपालिकामा पहिलो किस्ताको भत्ता वितरण गरिएको भएपनि त्यसपछिको भने वितरण गरिएको छैन । “पहिलो चरणमा त गाउँपालिकाबाटै ‘म्यानेज’ गरेर वितरण गर्‍यौँ । अब कहाँबाट दिने ? सारै समस्या छ ।”-गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने ।

बैतडीका सबैजसो स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा समस्या भएको छ । सिंहदरबारको अधिकार गाउँगाउँमा आयो अब सबै सेवा गाउँबाटै पाइन्छ भनेर खुसी भएका यहाँका सेवाग्राही आफूले पाइरहेको भत्तासमेत नपाउँदा समस्या भएको बताउँछन् ।

अन्य

भिडियो