INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१२ वर्षीया बालिकालाई बालगृहमा राखी बलात्कार गरेको कसुरमा ६१ वर्षीय गोविन्द ढकाललाई चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख ३ गते १० वर्षकैद र २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका छन् ।

पीडित बालिकाले आमालाई घटनाका बारेमा जानकारी गराएपछि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गराई ०७४ कात्तिक २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा पीडित पक्षले उजुरी दिएको थियो ।

पीडित पक्षले उजुरी दिएकै दिन इलाका प्रहरी कार्यालय रत्ननगरले आरोपित ढकालाई गिरफ्तार गरेको थियो । जिल्ला अदालतको मङ्सिर २२ गतेको आदेशले आरोपित पूर्पक्षका लागि थुनामा थिए ।

रत्ननगर नगरपालिका-१ भक्तिनीबगैँचामा बिना दर्ता सञ्चालित बालगृहका सञ्चालक ढकालले बालगृहमा आश्रति बालिकालाई बलात्कार गरेको भनी पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा प्रमाण सहितको उजुरी दिएपछि घटना बाहिर आएको थियो ।

आरोपित ढकाल सेवा निवृत्त शिक्षक हुन् । ढकालले बालिकालाई ०७३ वैशाखदेखि २०७४ भदौसम्म पटकपटक बलात्कार गर्दै आएको पीडित बालिकाले प्रहरीलाई बयान दिएकी थिइन् ।

पाँच वर्षदेखि सो बालगृहमा बस्दै आएकी ती बालिका सञ्चालक ढकालको अत्यचार सहन नसकेर गत भदौ महिनामा आफ्नै घर गएकी थिइन् ।

सो बालगृहमा बालिका बलत्कृत भएको रहस्य बाहिर आएपछि त्यहाँ रहेका अन्य तीन जना बालिकलाई उद्दार गरिएको थियो ।

अन्य

भिडियो