विराटनगर महानगरपालिका-१३ स्थित भारतीय दुतावासको सम्पर्क कार्यालयलाई लक्षित गरेर अज्ञात समूहले वैशाख ३ गते बेलुका कुकर बम विष्फोट गराएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार बिसीले कार्यालयको पश्चिम पर्खाल छेउ रहेको चौरीमा साँझ ८ बजेर १५ मिनेट जाँदा बम विष्फोट भएको बताए ।
बम विष्फोटका कारण एम्बेसीको सम्पर्क कार्यालयको पर्खालमा क्षति पुगेको एसपी बिसीले जानकारी दिए ।
मोटरसाइकलमा आएका दुई जनाले बम विष्फोट गराएको तर उनीहरूको पहिचान हुन नसकेकोले अनुसन्धान भइरहेको समेत एसपी बिसीले बताए । रातको समय भएको कारण अनुसन्धान र घटनास्थलमा केही प्रमाण फेला पार्न नसकेको उनको भनाइ छ ।