१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा कञ्चनरुप नपा-२ का २१ वर्षीय मो. नसिम शेख र उनको घरमा पाहुना आएका भारत जोगबनीका २० वर्षीय मो. सलमान शेखविरुद्ध वैशाख २ गते इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित पक्षले दिएको उजुरी नौ दिनपछि मात्रै प्रहरीले दर्ता गरेको हो ।
पीडित युवतीलाई आरोपितद्वयले चैत २२ गते धारिलो हतियार (चक्कु) देखाई नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको आरोपमा पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा चैत २४ गते उजुरी दिएकी थिइन् ।
पीडितले होहल्ला गरेपछि गाउँलेहरू भेला हुँदा आरोपितहरू फरार भएको पीडितले बताइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छैन । आरोपितहरू हालसम्म गिरफ्तार भएका छैनन् ।