INSEC Online

📅 २०८३ जेष्ठ २२

म्याद नाघेका औषधि स्वास्थ्य संस्थाद्वारा वितरण

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ३७ प्रकारका औषधिमध्ये केही औषधि म्याद नाघेको पठाएको तथ्य खुलेको छ ।

चन्द्रनिगाहपुर अस्पतालले स्थानीय पौराई स्वास्थ्य चौकीलाई पठाएको निःशुल्क औषधिमध्ये डोक्सलेव नामक औषधिको एक महिना अघिनै म्याद सकिएपनि चैत २५ गते स्वास्थ्य चौकी पौराईलाई पठाएको तथ्य खुलेको हो ।

अस्पतालले पठाएका औषधिहरूमध्ये धेरै औषधिहरूको म्याद एक महिनापछि सकिने खालको पठाएको चन्द्रपुर नपा-१ का वडा अध्यक्ष बिरू रखाल मगरले बताए ।

जनताको स्वास्थ्यमा खेलवाड गर्नेगरी म्याद सकिएको औषधि पठाउने अस्पताललाई कारवाही गर्नुपर्ने वडा अध्यक्ष रखालले माग गरेका छन् । चन्द्रनिगाहपुर अस्पतालले भने भुलवस म्याद सकिएको औषधि पर्न गएको जनाएको छ ।

त्यसैगरी रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेका चार ओटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलब भता नपाएका कारण उनीहरूस्वास्थ्य संस्थामा नियमित उपस्थित नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

चन्द्रपुर नगरपालिका भित्र पर्ने डुमरिया, सन्तपुर, जुडिबेला र पौराईमा कार्यरत चिकित्सक र कर्मचारीहरूले चार महिनादेखि तलब पाएका छैनन् । नेपाल सरकारका कर्मचारीले काम गरेको हरेक महिना तलब बुझ्ने गरेकोमा यसपटक स्वास्थ्यकर्मीहरूलाई स्थानीय तह मातहतमा समायोजन गरिएपछि समयमा तलब नपाइएको उनीहरूले गुनासो गरेका छन् ।

सो स्वास्थ्य संस्थामा कार्यरत २७ जना स्वास्थ्यकर्मीहरूले गएको पुस मसान्तपछि तलव नपाएको अस्पतालका कर्मचारी साम्वराज सापकोटाले बताए ।

प्रक्रियामा रहेकाले चाँडै तलब निकासा हुने चन्द्रपुर नगरपालिका स्वास्थ्य फाँटका सिनियर अहेव अभय ठाकुरले बताए । कोष तथा लेखा नियन्त्रणको कार्यालय रौतहटले स्वास्थ्यकर्मीको दरबन्दी माग गरेपछि सबै प्रक्रिया पुरा गर्न समय लागेकोले तलब निकासा हुन ढिलाई भएको जनाएको छ ।

अन्य

भिडियो