INSEC Online

📅 २०८३ जेष्ठ २१

फुजेल घटनाः नुरप्रसाद बयान दिन आएनन्

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारीलाई चैत २५ गते चितवन अदालतमा बयानका लागि उपस्थित हुन अदालते आदेश गरे पनि उनी अनुपस्थित रहे ।

अव यस मुद्दालाई के कसरी अघि बढाउने भन्ने विषयमा सोमबार छलफल हुने अदालतका सूचना अधिकारी केशव पौडेलले बताए ।

फागुन १३ गते आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस मुद्दाका जाहेरवाला नुरप्रसाद अधिकारीलाई बकपत्रका लागि अदालतमा हाजिर हुन आदेश गरेको थियो । मुलुकी ऐन २०२० को अदालती बन्दोवस्तको ११५ अनुसार ‘नबुझी नहुने’ भन्दै नुरप्रसादलाई चैत २५ गते आइतबार अदालतमा बकपत्रका लागि हाजिर हुन आदेश गरेको थियो । गाउँमा फेला नपरेपछि उनको नामको म्याद सार्वजनिक स्थान चौतारामा टाँसिएको थियो ।

विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए । त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरूद्ध किटानी उजुरी दिएका थिए । अधिकारीको हत्या ०६१ जेठ २४ गते अपहरणपछि माओवादी कार्यकर्ताले गरेको आरोप छ ।

‘उल्टै’ कारवाही

मुलुकी ऐन अदालती वन्दोवस्तको ११५ नम्बर अनुसार नबुझी नहुने भनिएको व्यक्ति तोकिएको मितिमा उपस्थित नभए उल्टै सजायको समेत व्यवस्था कानुनमा उल्लेख छ ।

पहिलो पटकका लागि ५० रुपियाँ जरिबाना र गिरफ्तार गर्न सकिने व्यवस्था छ । त्यस्तै दोस्रो पटकका लागि बाटोको म्याद बाहेक ७ दिनको लागि समय दिइने र यसमा पनि उपस्थित नभएमा १५ दिनदेखि ४५ दिनसम्मको कैद सजाय फैसला गर्न सकिने ऐनमा उल्लेख छ ।

अन्य

भिडियो