दुई दिनदेखि हराइरहेकी मटिहानी नगरपालिका-२ की ३० वर्षीया पुनमदेवी दासको हत्या गरी बोरामा हालेर फ्याँकेको अवस्थामा चैत २१ गते शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार मटिहानी नगरपालिका-२ स्थित वरदाहामा उनको शव फेला परेको हो ।
घरदेखि १ किलोमिटर उत्तर मटिहानी धिरापुर सडक छेउबाट जुट र प्लाष्टिकको बोरामा सेतो कपडाले बेरिएको अवस्थामा चैत २१ गते बिहान शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले शवको प्रकृति हेर्दा कुटपिट गरी घाँटी थिचेर दुई-तीन दिनअघि उनको हत्या भएको हुनसक्ने बताए ।
पुनमका पति शिवशङ्कर दास वैदेशिक रोजगारीमा साउदीबाट घर फर्केदेखि नै परिवारमा झैझगडा भइरहेको गाउँलेको भनाइ छ ।
प्रहरीका अनुसार पतिले कमाएर ल्याएको ५ लाख रुपियाँ र गरगहना चोरेर भागेको भन्ने देवर फुलिन्द्र दासले दुई दिनअघि मौखिक उजुरी दिएका थिए ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जनाएको छ ।