सुस्तमनस्थितिकी २१ वर्षीया महिलालाई बलात्कार गरिएको घटनालाई रामगोपालपुर नपा-१ का वडा अध्यक्षले गाउँघरमै मिलाउन खोजेको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएपछि प्रहरीले चैत १७ गते हस्तक्षेप गरी पीडितसँग उजुरी गर्न लगाई अनुसन्धान सरू गरेको हो ।
चैत ८ गते खेतमा काम गर्न हिँडेकी महिलालाई रामगोपालपुर नपा-१ बसविट्टीका २५ वर्षीय राजकुमार यादवले गहुँ खेतमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीको बयानमा पीडित महिलाले आफूलाई बलात्कार गरेको बताएकी छिन् ।
बलात्कार जस्तो अपराधको घटना मिलाउन जनप्रतिनिधि नै सक्रिय भएकोमा स्थानीयले आपत्ति जनाएपछि घटना प्रहरीसम्म पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडा अध्यक्ष शेख निरालाले ३ लाख रुपियाँको लेनदेन गरेर बलात्कारको घटना मिलाउन खोजेका थिए ।
वडा अध्यक्षले बलात्कारको घटना मिलाउन डाकेको पञ्चायती मै आरोपी यादवले आफूले बलात्कार गरेको स्वीकार गरेका छन् । बलात्कारको घटना सार्वजनिक हुँदा गाउँकै बेइज्जत हुने भएपछि लेनदेनमा मिलाउन खोजेको वडा अध्यक्ष निरालाले बताए ।
वडा अध्यक्ष निरालाले भने-‘नहुने घटना त भयो । यसले गाउँकै बदनाम गराउने भएपछि मिलापत्रको प्रयास गरको हुँ । पञ्चायतमा पीडित र आरोपी दुवै पक्षका पाँच-पाँच जना पञ्च चुनेर, दुवै पक्ष बसेर गरेको छलफलमा पीडित परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने माग गरियो ।’
वडा अध्यक्ष निरालाले ३ लाखमा घटना मिलाएको बताए । ‘पञ्चले त १० लाख रुपियाँ पीडितलाई दिनुपर्ने माग गरे ।’-उनले भने-‘मेरो प्रयासमा ३ लाख रुपियाँमा कुरा मिल्यो ।’
बलात्कारको घटना गाउँमा गुपचुप राख्ने सहमति गरिएको थियो । बलात्कृत महिलाका बावु वैदेशिक रोजगारमा छन् । बेसहारा आमालाई दबाब दिएर पञ्चायतले घटना पैसामा मिलाउन खोजेको स्थानीयले आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर केदार बस्नेतका अनुसार बलात्कारको घटना सोधखोज गर्न थालेपछि पीडित परिवार प्रहरी सम्पर्कमा आएका थिए ।
पीडित पक्षलाई प्रहरीसम्म पुग्न इटहर्वाकट्टी महिला सञ्जालकी अध्यक्ष चन्दु मण्डलले सहयोग गरेकी थिइन् । पीडित पक्षले चैत १७ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएको छ ।