रूपाकोट मझुवागढी नपा-१३ महुरेगढीमा रहेको एनसेल टावरमा चैत १५ गते राति नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजानी गरेका इन्सेक खोटाङ जिल्ला प्रतिनिधि सुनिता मगरले जनाएकी छन् ।
राज्यलाई कर नतिरेको आरोपमा एनसेल कम्पनीलाई कारबाही गर्ने कार्यक्रम अन्तर्गत गए राति उक्त टावरमा आगजनी गरिएको सो पार्टीले जनाएको छ ।
सो पार्टीका कार्यकर्ताले रातको करिब १० बजेको समयमा एनसेलको टावरको घेराबार तोडेर आगजनी गरेका हुन् । एनसेल कम्पनीको देशैभर रहेको टावरमा आगजनी गर्ने पार्टीको कार्यक्रम रहेको बताइएको छ ।
एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतका सामग्रीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले बताए । टावरमा आगजनी भएपछि गएरातिबाटै जिल्लामा एनसेल मोबाइल अवरूद्ध भएको छ । मोबाइल अवरूद्ध बनेपछि जिल्ला तथा जिल्ला बाहिरका सेवाग्राही मर्कामा परेका छन् ।
इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार मुसिकोट नपा-२ को कोटमा रहेको एनसेलको टावरमा चैत १६ गते आगजनी भएको छ । आगजनीबाट टावरको महत्वपूर्ण उपकरण जलेर नष्ट भएको वामी प्रहरी चौकीका इञ्चार्ज नारायण कुँवरले बताए ।
आगलागीबाट टावरको रिसिव गर्ने र फ्याँक्ने उपकणर पूर्ण रूपमा जलेको छ । रातिदेखि एनसेल प्रयोगकर्ता सम्पर्कविहीन रहेको स्थानीय धनिश्वर घिमिरेले बताए ।
घटनाको अनुसन्धान भइरहेकाले नेकपा वा अरूले घटना घटाए भन्ने बारेमा पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बताए ।
इन्सेक गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतिका अनुसार गण्डकी गाउँपालिका-५ दर्वुङमा रहेको एनसेलको टावरमा चैत १५ गते राति आगजनी भएको प्रहरीले जनाएको छ ।
अगोलागीका कारण जेनेरेटर, टेक्निकल तार र च्यानल बोर्डमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश अधिकारीले जानकारी दिए ।
अगोलागी कसले गरेको हो भनी खुल्न नसकेको उनको भनाइ छ । आगोलागीका कारण सो क्षेत्रको सेवा प्रभावित बनेको छ । आगजनी गर्नेको खोजी भइरहेको एसपी अधिकारीले बताए ।