कटहरिया नपा-५ की ३५ वर्षीया राजकुमारीदेवी साहको जलाउँदै गरेको शव चैत ६ गते बिहान प्रहरीले चीताबाटै बरामद गरेको छ ।
जलाउन लागिएकी यादवलाई हत्या गरी शव जलाउन लागिएको आरोपमा प्रहरीले शव बरामद गरेको जनाएको छ ।
मृतक यादवलाई ३५ वर्षीय पति विजय साह सोनारले कुटपिट गरी हत्या गरेको आरोपमा शव बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद शवसँगै प्रहरीले दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चारजना आफन्तलाई गिरफ्तार गरेको छ ।
प्रहरीले महिलाको शव जलाउन लागेको अवस्थामा कटहरिया नपा-५ का भन्टु साह र मृतककै भाञ्जा नाता पर्ने कटहरिया नपा-५ का रामबालक साह तथा मृतक महिलाका भाइ राजदेवी गाउँपालिका-३ का राजकिशोर साह र सुरेश साहलाई गिरफ्तार गरेको हो ।
मृतक महिला र उनका पति विजय साह सोनारबीच चैत ५ गते राति घरायसी विवादमा झगडा भएको र सोही विवादका कारण पति विजय साहले मृतकलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।
मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटना लगत्तै मृतकका पति फरार रहेका छन् ।
मृतकको शवलाई चैत ६ गते बिहान मृतकका दुई भाइ र आरोपित विजय साहका भाइ, भाञ्जाले नजिकै रहेको लालबकैया नदी किनारमा जलाउन लागेका थिए ।
स्थानीयको सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको एसपी पोखरेलले जानकारी दिए । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।