नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकका पर्वत संवाददाता पैयू गाउँपालिका-७ बस्ने छविलाल तिवारीले आफूविरूद्ध समाचार लेखेको आरोपमा स्थानीय ठेकेदार राजेन्द्र भण्डारीले चैत १ गते धम्की दिएको भन्दै चैत २ गते प्रहरीमा उजुरी दिएका छन् ।
मोदी गाउँपालिका-१ र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका-८ जोड्ने भुरूङ्दी खोलामा निर्माण हुन लागेको पुल निर्माण प्रारम्भ भएर लामो समयदेखि अलपत्र परेपछि पत्रकार छविलाल तिवारीले फागुन २० गते नागरिक राष्ट्रिय दैनिकमा “निर्माणाधीन पुल अलपत्र” शीर्षकमा समाचार लेखेका थिए ।
सोही समाचार लेखेको विषयलाई लिएर राति ठेकेदार भण्डारीले फोन गरेर किन समाचार लेखिस् ? तँलाई पर्वतमा आएर मारेर फाल्दिन्छु भन्दै धम्क्याएको पीडितले बताए ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डिएसपी दिलिप घिमिरेले पीडित र आरोपित दुवै पक्षलाई राखेर छलफल गरेपछि कानुनी प्रक्रियमा जाने जानकारी दिएका छन् ।