INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयको भवन जीर्ण, घामपानीबाट जोगिन धौधौ !

हिमाली गाउँपालिकामा रहेको भवानी प्रस्तावित निम्न माध्यामिक विद्यालयको भवन जीर्ण भएपछि पठनपाठनमा समस्या भएको छ । २०२६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण भएको हो ।

भवन पुरानो भएर चुहिने भएपछि विद्यार्थीहरू आउनै छाडेको विद्यलय व्यवस्थापन समितिका सदस्य मङ्गल शाहीले बताए । भवनको लागि जिल्लाका विभिन्न निकायसँग माग गर्दा पनि सहयोग पाउन नसकिएकाले यस्तैमा पढाउन बाध्य भएको प्रअ दलबहादुर मल्लले बताए ।

‘१ सय १५ जना विद्यार्थी अध्यानरत रहेको यो विद्यालयमा कक्षा ८ सम्मको पढाइ हुन्छ । हिमाली क्षेत्र अत्यन्तै चिसो हुने ठाउँ न फर्निचर न पर्याप्त पाठ्य सामग्री छ । विद्यार्थीहरू पनि नियमित हुँदैनन् ।’- प्रअ मल्लले भने ।

हिउँदमा अत्यधिक चिसो ठाउँ बिरामी भइन्छ भन्ने डरले घाम लागेका दिन मात्रै पढ्न जाने गरेको  कक्षा २ मा अध्यानरत मदनराज शाहीले बताए ।

आठ कक्षासम्मको अध्ययन भइरहेको विद्यालयमा प्राविमा तीन जना स्थायी दरबन्दी र एक जना राहत दरबन्दीका शिक्षकले धानिरहेका छन् ।

‘गाउँपालिकालाई अनुरोध गरेका छौँ । भवनको लागि सहयोग गर्छु भन्दै आश्वासन मात्रै पाइन्छ ।’-प्रअ मल्लले भने ।

‘जिल्लाका अन्य विद्यालयमा भौतिक संरचना धेरै छन् । हाम्रोमा कसैले सुनुवाइ गरिदिँदैनन् । गोरूगोठ जस्तो छ । हाम्रा छोरा छोरीले कसरी गुणस्तर शिक्षा पाउने समस्या छ ।’-विद्यालय व्यवस्थापन समितिका सदस्य मनलाल सार्कीले बताए ।

उनीहरूले गाउँमा आउने विकास निर्माणका योजनाहरूमा काम गरेबापत आउने रकमले उक्त विद्यालयमा निजी शिक्षक पाल्ने गरेका बताए । जिल्ला शिक्षा कार्यलय बाजुराका विद्यालय निरीक्षक बिबिराज सोतीले भने उक्त विद्यालयलाई यो वर्ष रु ५० हजार मर्मतको लागि छुट्याएको छ । जिल्लाभर ४३ वटा मर्मतका योजनालाई छुट्याएका छौँ । जिल्लामा आउने स्रोत कमीका कारण कम विद्यार्थी भएका विद्यालयहरूलाई कम प्राथामिकतामा पर्ने गरेका सोतीले बताए ।

अन्य

भिडियो