तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाका थारु समुदायमा गुरै पर्वको तयारी चल्दै थियो । गाउँका अगुवादेखि युवाहरु पनि पूजाको सरसमान जुटाउनमै व्यस्त थिए । माओवादी सशस्त्र द्वन्द्वकालिन अवस्था भएकाले ठूलै जमघट गर्दा दुवै पक्षबाट डर थियो । तर आफूले लगाएको वर्षे बालीको उत्पादन सोचेजस्तो हुने विश्वासमा थारु समुदायले २०५९ भदौ २१ गते सामूहिकरुपमा गुरै (प्रकृतिको पूजा) गर्न जमघट गरिरहेका थिए । अपसोच, त्यति नै बेला तुलसीपुरको एयरपोर्ट क्याम्पबाट आएको तत्कालिन सरकारी सेनाले सोधपुछका लागि भन्दै पूजामा संलग्न ६ जना युवालाई गिरफ्तार गरेर लग्यो । केही समयपछि फर्काइदिन्छौ पनि भनेका थिए तर २२ वर्ष बित्यो पहरुवाका १६ वर्षीय जागीराम चौधरी, ३१ वर्षीय खुसीराम चौधरी, २३ वर्षीय कुइरा चौधरी, २४ वर्षीय चनकलाल चौधरी, २७ वर्षीय सोमराज चौधरी र २७ वर्षकै सोहनलाल चौधरी अझै घर फर्किएका छैनन् ।
सोधपुछ भन्दै लगेकाले केहीछिनमै फर्काइदिने आशा गरेका घर परिवार २२ वर्ष यता बेपत्ता पारिएका आफ्ना सदस्य फर्किने आशामै छन् । सरकारी फौजले बिथोलेर रोकिएको गुरै पर्व त्यसयता लगातार आइरहेको छ तर सँगै लगिएका ६ जना युवाहरु कहाँ पुर्याइए अहिलेसम्म परिवारले पत्तो पाएका छैनन् । केहीछिनमा फर्काइदिने भन्दै लगिए पनि दिन, महिना, वर्ष बितिसक्दा समेत उनीहरुलाई नफर्काइएपछि परिवारका सदस्यहरुले प्रहरी, प्रशासनदेखि तत्कालिन सेनाका अड्डासम्म पुगेर आफन्तको खोजी गरे । त्यहाँबाट पनि अत्तोपत्तो नपाइएपछि कतै फर्किन्छन् कि भन्ने झिनो आशा पालेर बसिरहेको द्वन्द्वपीडित परिवार बताउँछन् ।
यहाँसम्म कि सेनाले बेपत्ता पारेका २४ वर्षीय छोरा चनकलाल चौधरी आउने आशै आशामा तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाका ६३ वर्षीय जोखुराम चौधरीको ०८२ असारमा निधन भयो । सन्तान फर्किने आशा र बलपूर्वक बेपत्ता पार्नेहरुलाई कारबाही र पीडितहरुलाई न्याय माग्दै हिँड्ने जोखुरामले न न्याय पाउनु भो न त छोरा । न्यायका लागि लड्दालड्दै जोखुराम जस्तै थुप्रै पीडितहरुले जीवन नै गुमाइसकेका छन् । बलपूर्वक बेपत्ता पारिएकाहरुको खोजी र पीडित परिवारलाई न्यायका लागि छानवीन गर्न बनेका आयोगले समयमै काम गर्न नसक्दा पीडितहरु न्यायालयसम्म पुग्न थालेका छन् ।
२७ वर्षकै उमेरमा पति सोमराजलाई सेनाले बेपत्ता पारेपछि दुई छोरा, एक छोरी हुर्काउन सङ्घर्ष गरेकी तुलसीपुर उपमहानगरपालिका –१५ की ४९ वर्षीया रतिकला चौधरीले त न्यायमा ढिलाइ भएको भन्दै ०७८ पुस ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिनुभयो । तर सङ्क्रमणकालिन न्यायको विषय भन्दै प्रहरीले चौधरीले दिएको उजुरी बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमा पठाइदियो । घर परिवार पाल्ने पति बेपत्ता पारिएपछि रतिकलालाई परिवार चलाउन अहिले पनि धौ धौ छ । छोरा, छोरी, नाति नातिनाको शिक्षादिक्षा राम्रोसँग दिन नपाइएको रतिकलाको गुनासो छ । ‘उहाँहरु लडाइँ गर्न जानु भएको थिएन, आफ्नो परम्परा मान्न जानु भएको थियो, कुनै पार्टीको कार्यक्रममा गएको पनि होइन, पीडित रतिकलाले भन्नुभयो,–‘जबरजस्ती लगेर कहाँ पुर्याए ? सरकारले हाम्रो मान्छे खोज्न पनि सकेन, हामीलाई न्याय दिन पनि सकेन ।’
०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा ६० दिन भित्र बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक गर्ने उल्लेख गरिएको छ । तर सम्झौता भएको १९ वर्षसम्म पनि सरकारले बेपत्ताको अवस्था सार्वजनिक गर्न सकेको छैन । सरकारको यही ढिलासुस्तीले पीडितहरु न्याय पाउने आशा मर्न थालेको बताउँछन ।
दाङमा सशस्त्र द्वन्द्वकालमा तत्कालिन राज्य र विद्रोही माओवादी पक्षबाट ७२ जनालाई बलपूर्वक बेपत्ता पारिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अभिलेख गरेको छ भने बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोगमा दाङका १ सय ४१ जना बेपत्ता पारिएको भन्दै उजुरी परेपछि आयोगले छानवीन गरिरहेको छ । तर पीडितहरुले बेपत्ता व्यक्तिको अवस्था छानबिनसँगै पीडित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारलगायत राज्यका सबै आधारभूत सेवालाई नि:शुल्क उपलव्ध गराउन माग गरिरहेका छन् । उनीहरुले आफन्त बेपत्ता पारिएपछि सामाजिक, आर्थिक र साँस्कृतिकरुपले सहज जीवन जीउन कठिन भइरहेको बताएका छन् ।
३१ वर्षीय छोरा खुशीराम बेपत्ता पारिएपछि तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवाकै ७७ वर्षीय सल्टैया थारुलाई चयनको निन्द्रा छैन । उहाँलाई छोरा फर्किन्छ कि भन्ने आशा अझै छ । तर यति लामो समयसम्म अत्तोपत्तो नलागेको छोरालाई कसैले छिटै फर्काइदिहाल्छ भन्ने विश्वास पनि छैन । ‘एकछिन सोधपुछ गरेर फर्काइदेलान भनेको थिएँ अहिलेसम्म आएन, अब कस्ले फर्काइदेला र ? आफ्नै जीवनकालमा छोराको अवस्था जान्ने इच्छा बोक्नु भएका सल्टैयाले भन्नुभयो– ‘छोराका साथीहरु विदेशबाट आउँदा त्यस्तै गरी फर्किएर आउँछ कि भन्ने आश लाग्छ ।’