INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीको त्रास: स्थानीय भन्छन्,‘बादल लागेपछि निद्रा पर्दैन’

भारी वर्षासँगै गुल्मी प्रशासनले सार्वजनिक सूचनानै प्रकाशित गरेर बाढी र पहिरोबाट सचेत रहन आग्रह गरेपछि उल्लीखोलाबासी त्रसित बनेका छन् । अहिले बडिगाड नदी बजारतिरबाटै बगिरहेको छ । जसले बर्षात शुरु भएसँगै सत्यवति गाउँपालिका–६ उल्लीखोलाका बासिन्दालाई बादल लागेपछि निद्रा पर्न छोडेको छ । २०७३ सालमा बडिगाड खोलाले उल्लीखोला बजार बगाउँदा धेरै पीडित भएका थिए । त्यस बेला उल्लीखोलाले पवित्रा भुसालको घरगोठसहित खेत बगाएपछि सात बर्ष छिमेकीकोमा आश्रय लिएर बसेकी थिइन् । सरकारले अनुदानको आश देखाएर घर बनाएकी भुसालले अहिलेसम्म केही पनि पाउनु भएको छैन । झनै यो बर्ष बडिगाड नदी बजारतिरबाट बगेपछि फेरि बगाउलाकी भन्ने त्रासमा भुसाल हुनुहुन्छ । बडिगाड खोला किनारका स्थानीय ढुक्कले निदाउन समेत छोडेको धेरै भयो । बडिगाड खोला किनारमा पर्ने भुवाचिदी, चोरकाटे र उल्लीखोला क्षेत्र बाढीको उच्च जोखिममा रहेका छन् । बर्षात शुरु भएकाले दैनिक ठूलो पानी परिरहेको छ । नजिकै डहरे पहिरो खस्ने र बडिगाड छेक्ने भएकाले खोलाले कति बेला बगाउँछ भन्ने टुङ्गो नभएको भुसालले गुनासो गर्नुभयो ।

बडिगाड नदी किनारका नागरिकले प्रत्येक पटकको निर्वाचनमा भोट माग्नेसँग नदी कटानको विषयलाई उठाउदै आएका छन् । तर, चुनावी परिणामसँगै उनीहरूको आशा मरेर जाने गरेको छ । बर्षेनी बडिगाड नदी किनारका समस्या उस्तै छन् । उल्लीखोलाकै मनु विकको पनि २०७३ सालमा तीन तले घरसहित खेत बडिगाड खोलाले बगाएर बगर बनायो । दौडिएर ज्यान मात्रै जोगाएकाले शरिरका लुगा बाहेक केही रहेन । ऋणधन गरेर घर बनाएको घर पनि डहरे खोलाको लेदो बगिरहने भएकाले धार परिवर्तनको हुँदा बगाउँछ की भन्ने पिरलोले रातदिन पीडा थपेको विकले बताउनुभयो । उल्लीखोलामा करिव ३५ घरपरिवार बाढीको जोखिममा छन् ।

२०७३ सालमा उल्लीखोला र शाहाघाट, चोरकाटेका बस्तीहरु लामो समय बिस्थापित हुने अवस्था आएको थियो । सरकारको तर्फबाट नदी कटानलाई नियन्त्रण गर्न पर्याप्त काम नभएकाले अहिलेपनि बस्तीहरु जोखिममा रहेको सत्यवति गाउँपालिका–६ उल्लीखोलाका युवा प्रेम कार्कीले बताउनुभयो । गाउँमा सबै राजनीतिक दलका नेता भोट मात्र माग्न आउने तर कसैले खोलातिर नजर नलगाएको कारण आफूहरुको समस्या ओझेलमा परेको कार्कीले बताउनुभयो ।

बाढीले मुसिकोट नगरपालिका–७ झेँदीका नरबहादुर कार्कीको घर पनि बगाएको थियो । बडिगाड खोलाले कटान थप्दै जाँदा मुसिकोट नगरपालिका–६ कुर्घाको भुवाचिदी बजारनै जोखिममा छ । अहिलेपनि बडिगाड खोलाको बहाव उच्च हुँदा भुवाचिदी बजारका झण्डै ६० देखि ७५ घरधुरी बाढीको उच्च जोखिममा रहेको मुसिकोट नगरपालिका–६ कुर्घाका व्यवसायी ज्ञानु सापकोटाले बताउनुभयो । कुर्घा, चोरकाटे, उल्लीखोला, शाहाघाट, खैरेनी बजारका अधिकांश घरहरु बडीघाट खोलावाट १० देखि १५ मिटरसम्मको दुरिमा रहेका छन् । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बडिगाडले बर्सेनी कैयन उर्वर खेतहरु कटान गरिरहेको भएपनि दिर्घकालिन योजना निर्माण हुन नसकेको बताउनुभयो । उहाँले मुसिकोटदेखि रुरुक्षेत्र सम्मका दर्जन बढि बस्तीहरु र खेतका फाँटहरु बाढीको जोखिममा भएपनि स्थानीय स्तरका साना योजनाले उपलब्धि नदेखिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले भारी बर्षाबाट हुनसक्ने क्षति बारे सचेत रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोइरालाले सार्वजनिक सूचना जारी गर्दै मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि देशभर मध्यमदेखि भारी बर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

साउन २८ गते बिहानबाट गुल्मी जिल्लाभर निरन्तर रुपमा बर्सा भइरहेकोले अत्यावश्यक काममा बाहेक यात्रा नगर्नु, खोला किनारमा दाउरा निकाल्ने र माछा मार्न जाने जस्ता क्रियाकलाप नगर्न सूचना जारी गरिएको कोइरालाले बताउनुभयो । वर्षाका समयमा हुन सक्ने बाढी पहिरो र खोला कटान लगायतका विपद्का घटनाहरु घटी जोखिम हुन सक्ने भएकाले सम्भावित जोखिमयुक्त ठाउँहरुमा बसोबास गर्ने नागरिकहरुलाई कुनै घटना हुन सक्ने अवस्था देखिए तत्काल खबर गर्न सूचनामा भनिएको छ ।

साउन २८ गते बिहानदेखिको अविरल वर्षाको कारण कालिगण्डकी करिडोर र रुद्रवेणी–वामी अवरुद्ध भएका छन् । कालिगण्डकी गाउँपालिका–२ को राक्सेका पहिरो गएर र रुद्रवेणी–वामी सडकको सत्यवति गाउँपालिका–६ को डहरेमा खोलाको सतह बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । पहिरोका कारण अवरुद्ध मुसिकोट नगरपालिका–४ को इन्द्रेगौडा तम्घास सडक अहिले संचालन भएको सारुले बताउनुभयो । गुल्मेलीले जिल्लाका मुख्य सडक पटक–पटक अवरुद्ध हुँदा धेरै पटक सास्ती खेपेका छन् ।

गुल्मीको जिल्ला बिपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २ सय बढी ठाउँ बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको बर्षातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । मुसिकोटको समुन्द्रे, कालिरह लगायत बडिगाड नदी किनार बाढीको जोखिममा छन् । भने सिम्ले, तोलादी, दजाकोट लगायतका स्थान पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

वि.संं. २०६४ र २०८१ मा गरेर मुसिकोटमा पहिरोबाट १० जनाको मृत्यु भएको छ । मालिकाका नौ स्थान बाढीको जोखिममा छन् भने सबै वडा पहिरोको जोखिममा छन् । ती मध्येपनि १८ स्थानलाई बिशेष क्षेत्रको रुपमा राखिएको छ । मालिकाका छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन् भने नेटा, म्याला, जुकेना र आठमिरे लगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन् ।
गत वर्ष पहिरोले मालिकाका एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो । विभिन्न वडामा करिव १ सय घर परिवार बिस्थापित भएका थिए । सत्यवति गाउँपालिकामा मुख्य नौ स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् ।

बाढीबाट बडिगाड क्षेत्रका उल्लीखोला, शाहाघाट, रुद्रवेणी र लुम्दिखोला प्रभावित क्षेत्र हुन् । ठुलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा र अस्लेवा पहिरोको जोखिममा रहेका छन् । सत्यवति गाउँपालिकाले २०७६ सालमा पहिरोबाट १३ जनाको ज्यान गएको थियो । तत्कालिन समयमा ३ सय बढी परिवार बिस्थापित भएका थिए । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् ।

गुल्मीको मजुवामा बिपत् उद्धारको लागि सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ । बर्सात सुरु भएसँगै हुनेसक्ने बाढी र पहिरोमा तत्काल उद्धार गर्ने उदेश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवाको मानका टिकाराम बहुमुखी क्याम्पसमा वेश स्थापना गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी वल नेपाल प्रधान कार्यालयको निर्देशनमा सशस्त्र प्रहरी वल ३७ नं गुल्म, गुल्मीद्वारा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको हो । अहिले सशस्त्र प्रहरी वलका सई टोपबहादुर कुमालको कमाण्डमा २० जनाको टोली वेशमा खटिएको सशस्त्र प्रहरी वल ३७ नं गुल्म, गुल्मीका गुल्मपति डिएसपी सुदिप पसाईले जानकारी दिनुभयो ।

सदरमुकामबाट टाढा रहेको क्षेत्र नं १ का बस्तीहरुमा हुने बिपद्लाई केन्द्रमा राखेर वेश स्थापना गरिएको हो । बडिगाड खोलाले खेत कटान गर्दै आएको छ । झेदी, भुवाचिदी, सोता, मजुवा, उल्लीखोला, चोरकाटे, खैरेनी लगायतका बजारहरु डुवानको जोखिममा छन् । दुई जिल्ला जोड्ने रिडी–रुद्रवेणी–वामी मुख्य सडकखण्डसहित शाखा सडकहरु पहिरोका कारण अवरुद्ध हुने गरेका छन् । पहिरोको उच्च जोखिममा रहेका मुसिकोट, गुल्मीदरवार, छत्रकोट, रुरु, सत्यवति, चन्द्रकोट लगायतका बडिगाड खोला किनारमा तत्काल उद्धारको लागि सशस्त्रको वेश उपयुक्त देखिएको डिएसपी पसाईले बताउनुभयो ।

पीडित परिवारहरूको पीडा र सङ्घर्षलाई मध्यनजर गर्दै दीर्घकालीन योजना, प्रभावकारी उपाय र जनचेतनाको आवश्यक छ । यस संकटलाई सामूहिक प्रयास र राजनीतिक इच्छाशक्तिको माध्यमबाट मात्र समाधान गर्न सकिन्छ ।

अन्य

भिडियो