प्रदेश नम्बर ३ को निर्वाचनस्थल ललितपुरको जावलाखेलमा मतदान गर्न आएकी चार दिनकी सुत्केरी सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी उपाध्यक्ष कमला श्रेष्ठलाई मतदानमा भाग लिन कठिनाइ भएको पाइएको इन्सेकले जनाएको छ ।
असक्त मतदाताको सुविधाका लागि न्यूनतम प्रयास नगरिँदा मतदान प्रकृया असहज भएको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा माघ २४ गते जारी विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष प्याकुरेलले श्रेष्ठलाई हृवील चेयरको व्यवस्था नगरेकोप्रति सरोकार रहेको बताए । उनले भने-‘स्क्रिनिङ गर्ने ठाउँसम्म नै गाडीको व्यवस्था गर्नुपर्ने थियो । सो हुन नसकेमा हृवील चेयरको व्यवस्था गर्न त सकिन्थ्यो नि ! आयोगको ध्यान त्यता गएको पाइएन ।’
‘असक्त अवस्थामा रहेका आफ्ना मतदाताप्रति निर्वाचन आयोगले गरेको बेवास्ताले आयोगको संवेदनहीनतालाई उजागर गरेको छ ।’-विज्ञप्तिमा उल्लेख छ ।