नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८२ असार २३ गते नवलपरासी (सुस्ता पूर्व)मा सम्पन्न भएको छ ।
सन् २०२५ जनवरीदेखि जुनसम्म जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १० ओटा घटनामा ११ जना पीडित भएको अभिलेख गरिएको इन्सेक नवलपुर प्रतिनिधि दयाराम आचार्यले कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । जसमा हत्या एक, बलात्कार पाँच, बलात्कार प्रयास एक, यौन दुव्र्यवहार एक, घरेलु हिंसा एक र कुटपिटको एउटा घटना रहेका छन् ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले मानव अधिकार हननका घटना उजागर गरी आरोपितलाई कानुनी दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन इन्सेकले भूमिका निर्वाह गरेको भन्दै पत्रकारले समेत यसमा थप भूमिका खेल्नुपर्ने बताउनु भयो । मानव अधिकार उल्लघङ्न तथा ज्यादतीका घटना हुन नदिन सबै सरोकारवालाहरू मिलेर लाग्नुपर्ने उहाँले बताउनु भयो।
नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष श्रीराम सिग्देलले जिल्लामा कतिपय मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अझै लुकाउने गरिएको र सबै बाहिर आउन नसकेको भन्दै पीडितको सुरक्षाको प्रत्याभूत गराउँदै कानुनी उपचारमा आउने वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले मानव अधिकारको प्रत्याभूत गराउने सवालमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताएका थिए । इन्सेकले जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेख गरी सार्वजनिक गर्दै सबैलाई निरन्तर झकझक्याउने काम गरिरहेको सहभागीहरूले बताएका थिए ।


