अनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि सङ्कलन गरेको घटनाहरुको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार २२ गते सम्पन्न गरेको छ ।
गोरखामा सन् २०२५ जनवरीदेखी जुनसम्मको ६ महिनाको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका आठ ओटा घटना इन्सेकले अभिलेख गरेको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हरिराम उप्रेतीले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा आठ जना पीडित भएको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । जसमा बाल अधिकार अन्तरगत बलत्कार, वलत्कार प्रयास र यौन दुर्व्यवहारका ६, महिलाविरुद्घ हुने सबै प्रकारका भेदभाव दुव्र्यवहार अन्तर्गत बलत्कार, वलत्कार प्रयास र यौन दुवर्यवहारका एक तथा आत्महत्या दुरुत्साहनको एक गरी आठ घटना रहेका छन् ।
कार्यक्रमका वक्ताहरुले आर्थिक, सामाजिक सांस्कृतिक अधिकारका विषयवस्तु छायाँमा परेको बताएका थिए । जिल्लाको समग्र मानव अधिकारको विषयवस्तुको बारेमा बुझ्नका लागि मानव अधिकार वर्ष पुस्तक सहयोगी बनेको पनि कार्यक्रमका वक्ताहरुले बताए ।
कार्यक्रम मानव अधिकार सञ्जाल गोरखाका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर सरोज कार्की, पत्रकार महासंघका अध्यक्ष नरेन्द्र ढकाल, कानुन व्यवसायी स्थानेश्वर दवाडी, महिला अधिकारर्मी सावित्री भट्ट लगायतले मन्तव्य राखेका थिए ।