पञ्चपुरी नगरपालिकामा इन्सेकद्वारा गठित नगरस्तरीय मानव अधिकार समुहद्वारा वडा नम्बर २ को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । ०८२ असार २० गते पञ्चपुरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष यामबहादुर विसीलाई समूहले २ नम्बर वडाको बजार क्षेत्र प्लास्टिकजन्य फोहोरले गर्दा वातावरण प्रदुषण भइरहेको र वडाको केही भागमा भिरालो जमिनका कारण माटोमा ह्रास हुने सम्भावना भएको भन्दै समस्या समाधानका लागि वडाको ध्यानाकर्षण गराइएको हो ।
विज्ञप्तिमा भनिएको छ–‘नेपालको संविधानको भाग ३ को मौलिक हक अन्तरगत धारा ३० मा स्वच्छ वातावरणको हकको व्यवस्था रहेको छ । उक्त हकको (१)मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भनी संवैधानिक व्यवस्था गरेको छ । सोही व्यवस्था अनुरुप नागरिकलाई सेवा दिन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ । वडामा भएको फोहोर र प्लाष्टिक व्यवस्थापन गर्नका लागि ध्यानाकर्षण पत्र पेश गर्दछौं ।’
वडाअध्यक्ष यामबहादुर विसीले ध्यानाकर्षण पत्र बुझ्दै यस समस्याको समाधान गर्नका लागि सबै निकायसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ध्यानाकर्षण पत्र हस्तान्तरणमा प्रदेश मानवअधिकार समुहका संयोजक इन्द्राविसी, पञ्चपुरी मानवअधिकार समुहका सदस्य डिला चपाईं लगायतको सहभागिता रहेको थियो ।
