INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षामा प्रहरी सधैँ तयार छ: डिआइजी श्रेष्ठ

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी माधवप्रसाद श्रेष्ठले कर्णालीमा मानव अधिकार रक्षाका लागि प्रहरी संस्था सधैँ तयार रहेको बताउनु भएको छ । ०८२ असार ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अगुवाइमा सुर्खेतमा भएको एक अन्तरक्रिया कार्यक्रममा डिआइजी श्रेष्ठले मानव अधिकारका सवालमा प्रहरी गम्भीर रहेको स्पष्ट पार्नुभएको हो । उहाँले मानव अधिकार उल्लङ्घनका घटनालाई गम्भीरतापूर्वक लिने र त्यसको समाधानमा प्रहरी प्रतिवद्ध रहेको बताउनु भयो ।

Photo 2025-06-24 Surkhet (3)

छलफलका क्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले कालिकोटका पत्रकार कर्ण विश्वकर्मालाई समाचार लेखेकै कारण त्रास सिर्जना भएको, राउटे समुदायको सुरक्षा चुनौती, तथा लागूऔषधको असरबारे जानकारी गराउनुभएको थियो । उक्त विषयमा डिआइजी श्रेष्ठले आफूहरूको ध्यानाकर्षण भएको र यस्ता विषयहरूलाई बेवास्ता नगरिने प्रस्ट पार्नुभयो । उहाँले मानव अधिकार रक्षकहरूलाई सुरक्षा दिनुपर्छ भन्नेमा प्रहरी सचेत रहेको बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीको पनि उपस्थिति रहेको थियो । उहाँले मानव अधिकार संरक्षण र सम्वद्र्धनका विषयहरुमा संघसंस्थाहरुसँग समन्वय गरेर काम गर्न सकिने बताउनु भयो ।

Photo 2025-06-24 Surkhet (1)

छलफलमा उच्च बार सुर्खेतका अध्यक्ष दुर्गा सापकोटा, गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारु, मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी अध्यक्ष शर्मिला विसी, महिला एकल समूह सुर्खेतकी अध्यक्ष ममता नगाल, इन्सेककी फोकल पर्सन ललिता विक, मानव अधिकारकर्मी बिन्दुलाल रेग्मी लगायतको सहभागिता रहेको थियो । छलफलमा सहभागीहरूद्वारा मानव अधिकारका सवालमा प्रहरी प्रशासनसँग सहकार्य गर्नुपर्ने, गुनासोको सुनुवाइ र दण्डहीनताको अन्त्य गर्नुपर्ने सुझाव दिइएको थियो ।

Photo 2025-06-24 Surkhet (2)

अन्य

भिडियो