
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ४ गते महोत्तरीमा सम्मपन्न भएको छ ।
कार्यक्रममा सन् २०२५ जनवरीदेखि जुनसम्ममा इन्सेकले महोत्तरीमा २ सय ७६ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलन तथा अभिलेख गरेको तथ्याङ्क प्रस्तुत गरेको छ । जसमध्ये महिलाविरुद्ध हुने सबै किसिमको विभेदको घटनामा २ सय ६२ जना महिलाहरू पीडित भएका छन्, बाल अधिकारको घटनामा नौ जना बालिकाहरू पीडित भए भने नागरिक तथा राजनीतिक अधिकारबाट तीन जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
कार्यक्रममा बोल्दै महिला सचेतना केन्द्रकी अध्यक्ष साधना वर्माले जिल्लामा मानव अधिकारकर्मी सम्मीलित मजबुत सञ्जालको निर्माण गरिनु पर्ने बताउनु भयो ।
त्यसैगरी, मानव अधिकारको विश्लेषक तथा लेखक राकेश प्रसाद चौधरीले पीडितका लागी सहयोगी संयन्त्रको अभाव रहेको र हरेक पालिकामा रहेको पीडित राहत कोष बारे व्यापक छलफल गरी पैरवी अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।
चौतारी नेपालका अध्यक्ष रामवरण यादवले बढि जोखिम र विभेदमा एच.आई.भी संक्रमित रहेकोले त्यस्ता पीडितको मानव अधिकारको सवालमा सबै पक्ष गम्भीर हुन आग्रह गर्नु भयो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका सइ आशा चौधरीले घरेलु हिंसा, बलात्कार, हत्या जस्ता घटना दिनानुदिन बढिरहेको र जोखिममा महिलाहरू रहेको बताउँदै घटना न्यूनिकरणका लागि विशेष रुपमा जनचेतनामूलक कार्यक्रम तथा अभियान चलाउनका लागी सबै संयुक्त रुपमा एकजुट हुन जरुरी रहेको बताउनु भयो ।
नागरिक समाजका अगुवा कमलेश सिंहले तथ्याङ्क सङ्कलन तथा अभिलेखिकरणमा इन्सेकको कार्य उत्तम रहेको भन्दै यसको दायरा फराकिलो बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रमममा उपस्थित सबैले नेपालमा मानव अधिकारको अवस्था र वर्ष पुस्तक बारे समीक्षा गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागी शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमममा सरोकारवाला निकाय, नागरिक समाज र मानव अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहगिता रहेको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो ।
