INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा सम्पन्न

Photo 20250621 Mahottari (1)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ४ गते महोत्तरीमा सम्मपन्न भएको छ ।

कार्यक्रममा सन् २०२५ जनवरीदेखि जुनसम्ममा इन्सेकले महोत्तरीमा २ सय ७६ ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलन तथा अभिलेख गरेको तथ्याङ्क प्रस्तुत गरेको छ । जसमध्ये महिलाविरुद्ध हुने सबै किसिमको विभेदको घटनामा २ सय ६२ जना महिलाहरू पीडित भएका छन्, बाल अधिकारको घटनामा नौ जना बालिकाहरू पीडित भए भने नागरिक तथा राजनीतिक अधिकारबाट तीन जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।

कार्यक्रममा बोल्दै महिला सचेतना केन्द्रकी अध्यक्ष साधना वर्माले जिल्लामा मानव अधिकारकर्मी सम्मीलित मजबुत सञ्जालको निर्माण गरिनु पर्ने बताउनु भयो ।

त्यसैगरी, मानव अधिकारको विश्लेषक तथा लेखक राकेश प्रसाद चौधरीले पीडितका लागी सहयोगी संयन्त्रको अभाव रहेको र हरेक पालिकामा रहेको पीडित राहत कोष बारे व्यापक छलफल गरी पैरवी अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

चौतारी नेपालका अध्यक्ष रामवरण यादवले बढि जोखिम र विभेदमा एच.आई.भी संक्रमित रहेकोले त्यस्ता पीडितको मानव अधिकारको सवालमा सबै पक्ष गम्भीर हुन आग्रह गर्नु भयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका सइ आशा चौधरीले घरेलु हिंसा, बलात्कार, हत्या जस्ता घटना दिनानुदिन बढिरहेको र जोखिममा महिलाहरू रहेको बताउँदै घटना न्यूनिकरणका लागि विशेष रुपमा जनचेतनामूलक कार्यक्रम तथा अभियान चलाउनका लागी सबै संयुक्त रुपमा एकजुट हुन जरुरी रहेको बताउनु भयो ।

नागरिक समाजका अगुवा कमलेश सिंहले तथ्याङ्क सङ्कलन तथा अभिलेखिकरणमा इन्सेकको कार्य उत्तम रहेको भन्दै यसको दायरा फराकिलो बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रमममा उपस्थित सबैले नेपालमा मानव अधिकारको अवस्था र वर्ष पुस्तक बारे समीक्षा गर्दै नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागी शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रमममा सरोकारवाला निकाय, नागरिक समाज र मानव अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहगिता रहेको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो ।

Photo 20250621 Mahottari (4)

अन्य

भिडियो