अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको अर्धवार्षिक समीक्षा असार ३ गते जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सभाहलमा बहुपक्षीय सरोकारवालाहरुको सहभागितामा सम्पन्न भयो ।
इन्सेक कपिलवस्तु प्रतिनिधि रीमा बि.सी.ले ०८१ पुस १६ गतेदेखि ०८२ असार ३ गतेसम्मको अवधिमा कपिलवस्तु जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाहरु प्रस्तुत गर्नुभएको थियो । यस अवधिमा जिल्लामा २ सय ७० घटनाहरु इन्सेकले अभिलेखिकरण गरेको छ । जसमा बालबालिका सम्बन्धी बलात्कारका १२, यौन दुव्र्यवहारका पाँच ओटा गरी जम्मा १७ ओटा, महिला अधिकारसम्बन्धी बलात्कारका ६ र बलात्कार प्रयासका पाँच ओटा गरी ११ ओटा सहित जम्मा २८ ओटा रहेका छन् ।
त्यस्तै मानव बेचविखन तथा ओसार पसारका एक जना, बहुविवाह दुई जना, अपहरण तथा शरीर बन्धक दुई जना गरी जम्मा ३२ ओटा र घरेलु हिंसाबाट २ सय ३८ जना पीडित रहेको इन्सेकले अभिलेख गरेको जिल्ला प्रतिनिधि बि.सीले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको कामको प्रसंशा गर्दै यो प्रतिवेदनमा सबै कुरा समेटेर जिल्लाको समग्र अवस्थालाई उजागर गरेको बताउनु भयो ।
न्यायिक समितिहरुलाई कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषयमा धेरै प्रयास गरेपनि जिल्ला समन्वयकै खर्चमा दुई दिनको कार्यक्रम राख्दा समेत सबैलाई उपस्थित गराउन नसकिएकोले यस्ता सवालमा कसरी अगाडी बढाउन सकिन्छ यहाँहरुको सुझाव आउनुपर्ने बताउदै प्रत्येक पालिकामा एउटा पालिकालाई नमुना पालिका घोषणा गर्ने प्रयासमा लागेको र जिल्लामा विषयगत शिक्षक एकदमै कमजोर रहेको बताउनुभयो ।
इन्सेकले जिल्लामा भएका सकारात्मक प्रयासहरुको पनि अभिलेख राख्नुपर्ने भन्दै कपिलवस्तु पूर्ण खोप चौथो जिल्लाको रुपमा घोषणा भएको समेट्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले मानव अधिकारको सवालमा काम गर्ने संस्था इन्सेकले नियमित रुपमा जिल्लासँग सक्रिय भएर काम गर्नुपर्ने बताउदै विद्यालयहरु महिनौ दिनसम्म बन्द भएर बालबालिकाहरु शिक्षाबाट वञ्चित भएको सवाललाई जोडदारले उठान गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तामाङले जिल्लामा रहेका स्थानीय न्यायिक समिति कमजोर भएको महसुस आफूले पनि गरेको बताउँदै न्यायिक समितिको क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभयो । मानव अधिकारको संरक्षणका लागि अति संवेदनशील भएको बताउदै मानव अधिकारको सवालमा पाएका सूचनाहरुलाई सेयर गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्टिय मानव अधिकार आयोगका प्रमुख हरि प्रसाद ज्ञवालीले अबको मानव अधिकारको सवाल आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारको सवालमा अझ काम गर्नुपर्ने बताउनुभयो । तिनै तहका सरकारले पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजनाका सवालमा काम गर्ने समिति गठन गर्नुपर्ने भएपनि अहिलेसम्म बेखबर भएको बताउदै संंयन्त्र निर्माणमा पनि स्थानीय सरकार संवेदनशील नभएको बताउनुभयो । शिक्षाको अधिकारको कुरा गर्दा एउटा पनि शिक्षक दरबन्दी नभएका विद्यालयहरु पनि जिल्लामा रहेकोले यस्ता विषयमा राज्य अझ संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा समन्वय इकाइ कपिलवस्तुका प्रमुख लोकनाथ ज्ञवालीले शिक्षामा केही समस्याहरु भएको स्वीकार गर्दै आगामी दिनमा अझ कसरी राम्रो बनाउन सकिन्छ त्यस सम्बन्धित निकाय संवेदनशिल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी निरञ्जन दत्त भट्टले मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्न संवेदनशील भएर काम गरिरहेको बताउनुभयो । एसपी भट्टले इन्सेकको नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रहरीले गरेका राम्रा अभ्यासहरुलाई पनि अटाउने गरी राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरीका एसपी नरेश के.सीले मानव अधिकारको सवालमा संवेदनशील भएको बताउदै किसानहरुलाई मलखाद सम्बन्धी परेको पीर मर्का बुझेर सीमा क्षेत्रमा केही सहजता दिएको भएपनि तस्करहरुले आफ्नो बदनाम गर्न खोजेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बाबुराम खनालले इन्सेकले मानव अधिकारको संस्कृतिको विकासका लागि धेरै काम गर्दै आइरहेकाले महिला तथा बालिकाहरुसँग सम्बन्धित घटनाहरु बढनुको कारण राख्न आग्रह गर्नुभयो ।

कार्यक्रममा मानव अधिकारकर्मी रवि ठाकुरले मानव अधिकारको संस्कृतिको विकासका लागि इन्सेकको महत्वपूर्ण योगदान रहेको बताउदै स्थानीय सरकारहरु अलिक बढी जवाफदेही बनन नसक्दा विभिनन खालका समस्याहरु नागरिकले भोग्नुपरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले इन्सेकले जिल्लाको समग्र मानव अधिकारको अवस्थाको विश्लेषण गरी प्रस्तुतीकरण गरेको बताउदै न्यायिक समितीले काम गर्न नसक्नु क्षेत्राधिकारको विषयमा जानकारी नभएर हो या काम गर्न नसकेर हो सो विषयलाई अझ बढी निगरानी गर्न इन्सेकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति रामआशिष पाण्डे, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज रुद्रलाल बन्जाडे, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जेपी पाण्डे, अधिकारकर्मी पुष्पा रेग्मी लगायतले आ–आफ्नो धारणा राख्दै जिल्लामा न्यायिक समिती र ओसिमएमसीलाई अझ सवल बनाउनतिर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता रुकैया खातुन र सञ्चालन जिल्लाप्रतिनिधि रीमा बि.सीगर्नु भएको थियो ।
