INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारका सवालमा पत्रकार र अधिकारकर्मीबीच छलफल

मानव अधिकारका सवलामा पत्रकार र अधिकारकर्मीबिच छलफल कार्यक्रम असार ४ गते सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।

मानव अधिकार र सामाजिक न्यायसम्बन्धी सवालमा सञ्चार माध्यमको भूमिकाका विषयमा पत्रकार र अधिकारकर्मीले हातेमालो गर्न आवश्यक रहेकोमा सन्दर्भमा पत्रकार र अधिकारकर्मीले छलफल गरेका छन् ।

इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सञ्चार माध्यममा मानव अधिकारका सवालमा ०८२ असार ४ गते गरेको छलफल कार्यक्रममा पत्रकार र  मानव अधिकारकर्मीले पीडितको न्याय प्राप्तिका विषयमा घनिभूत छलफल गरेका छन् । सञ्चार माध्यमले मानव अधिकार प्रवर्द्धनमा खेलेको भूमिका र त्यसका चुनौतीका बारेका अधिकारकर्मी र पत्रकारले छलफल गरेका छन् ।

कार्यक्रममा वक्ताहरूले सञ्चार माध्यममार्फत समाजमा उत्पन्न हुने प्रभाव, मानव अधिकार उल्लङ्घनका घटना उजागर गर्न पत्रकारको भूमिका  र प्रेस स्वतन्त्रता सम्बन्धी विषयमा धारणा राखेका छन् । मानव अधिकार सम्बन्धी विषयलाई सन्तुलित, तथ्यमा आधारित र नैतिक पत्रकारिताको ढाँचामा प्रस्तुत गर्नुपर्नेमा पत्रकारले जोड दिएका छन् ।

छलफलमा सहभागी पत्रकारहरुले सञ्चार माध्यममा मानव अधिकारका सवाल अझ बढी गहिराइमा उठान गर्नका लागि अधिकारकर्मी र पत्रकारबिच समन्वयात्मक भूमिका निर्माणको आवश्यकता भएको बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका  अध्यक्ष सन्तोष काफ्लेले पेसागत रुपमा प्रतिवद्ध पत्रकारले सत्य , न्याय र सुशासनको पक्षमा काम गरेको बताउनु भयो । उहाँले कानुनी अधिकार उपयोग र दुरुपयोग केका लागि भएको भन्ने विषयमा पत्रकार र अधिकारकर्मी गम्भीर हुन जरुरी रहेको बताउनु भयो । अध्यक्ष काफ्लेले देशमा साशकबाट अधिकारकर्मी तथा सञ्चारकर्मी बेलाबखत जोखिम तथा त्रसित भएर काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलले पत्रकार र अधिकारकर्मीको भौतिक सुरक्षा र पेशागत सुरक्षा सम्वेदनशील भएकाले त्यसको रक्षाका लागि पत्रकार र अधिकारकर्मीले राज्यलाई नैतिक दबाब सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो । मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाले मानव अधिकार रक्षकका विषयमा कार्य सम्पादन गर्ने लक्ष्य राखेपनि कोशी प्रदेशमा पाँचौ राष्ट्रिय कार्यायोजना कार्यान्वयनका लागि गठन गरिने समितिहरू नै नभएका कारण त्यसले सरकारको योजना नै प्रभावहीन भएको बताउनु भयो । उहाँले हिंसाका कुनैपनि घटना मान्य नहुने भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन अधिकारकर्मी र पत्रकारले संयुक्त रूपमा खेल्न आवश्यक रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदीले मानव अधिकार सबै मौलिक हकका सवाल भएकोले अधिकारकर्मी तथा सञ्चारकर्मीहरु मिलेर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ सुनसरीका सचिव विनय बार्हकोटीले  पत्रकार र मानव अधिकारकर्मीबिच समन्वयको अभाव भएकाले त्यसको परिपूर्ति गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नैतिकता र आचारसंहिताभित्र रहेर पत्रकार र अधिकारकर्मीले काम गर्न आवश्यक भएको बताउनु भयो ।

नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष धुर्व ढकालले स्थानीय तहमा जनप्रतिनिधि आएपछि अधिकारका सवालमा कमजोर भएको गुनासो गर्नु भयो । उहाँले प्रहरी र प्रशासनले मानव अधिकारका सवालमा सूचना नदिँदा पीडितको न्याय प्राप्तिका विषयमा अधिकारकर्मी र पत्रकारको भूमिका कमजोर हुँदै गएको बताउनु भयो । पत्रकार सन्तोष यादवले अधिकार र दायित्वबाट मात्रै नागरिकको मानव अधिकार सुनिश्चित हुने बताउनु भयो ।

ओरेक प्रदेश संयोजक शोभा बजगाईले पीडितमैत्री तथा मानव अधिकारमैत्री सवाल उठाउन जरुरी भएको बताउनु भयो । मुद्दाहरुलाई प्रभावित पार्ने भन्दा न्यायमा पहुँच हुने गरि सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो । पीडितलाई न्यायका लागि पहल हुने गरि अधिकारकर्मी तथा सञ्चारकर्मीहरुले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

गैरसरकारी संस्था महासंघ सुनसरी अध्यक्ष मेघराज न्यौपानेले पत्रकार र अधिकारकर्मीले मिलेर काम गर्नु पर्नेमा एक अर्कामा दोष दिने प्रवृत्तिका कारण पीडितको न्याय स्थापनाको मुद्दा कमजोर हुँदै गएको बताउनु भयो । पत्रकार वा अधिकारकर्मीले समस्या उठान गरेपछि त्यसो समस्यालाई पीडितको न्याय स्थापनासम्म लैजान अधिकारकर्मी र पत्रकारको बराबर भूमिका हुनु पर्ने बताउनु भयो ।

महिला मानव अधिकार रक्षक सञ्जाल सरस्वती केसीले पत्रकार र अधिकारकर्मीलाई चुनौती भएको अझ महिला अधिकारकर्मीलाई बढी चुनौती हुने गरेका कारण सबैले सामूहिक रुपमा पीडितको न्यायका लागि हातेमालो गर्न आवश्यक भएको बताउनु भयो ।

सप्तकोसी एफएम इटहरीका प्रधान सम्पादक लिलाराज भट्टराईले सबै मिलेर सामाजिक न्यायको पहुँचका लागि काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले अधिकारकर्मी र सञ्चारकर्मीहरुले हातेमालो गरेको खण्डमा मानवअधिकारका सवाललाई सम्बोधन गर्न सकिने बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य इन्सेक प्रदेश प्रलेख अधिकृत पुण्य अधिकारीले मानवअधिकार रक्षकको लागि कानुन कार्यान्वयन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा अधिकारकर्मी, पत्रकार, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Photo 202506018 Sunsari (1)

Photo 202506018 Sunsari (2)

Photo 202506018 Sunsari (3)

Photo 202506018 Sunsari (6)

Photo 202506018 Sunsari (7)

अन्य

भिडियो