अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा ०८२ जेठ १३ गतदेखि सुर्खेतमा बाल अधिकार समूहका सदस्यहरूलाई लक्षित गरी दुई दिने क्षमता अभिवृद्धि तालिम ०८२ जेठ १४ गते सम्पन्न गरिएको छ ।
तालिममा सुर्खेत र दैलेखका आठ विद्यालयबाट ३२ जना बाल अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको थियाे । सहभागीलाई बाल अधिकार, बालश्रम, मानव अधिकार, कानुनी प्रक्रिया र प्रभावकारी समूह सञ्चालन, नेतृत्व विकास, भित्ते पत्रिका प्रकाशन, वातावरण संरक्षण बालमैत्री विद्यालय, लैङ्गिक हिंसा, महिला तथा विभेद विरुद्धको अधिकारका बारेमा प्रशिक्षण दिइएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयाेजक नारायण सुवेदीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार दुई दिनसम्म चलेकाे तालिमकाे सहजिकरण जिल्ला बार एशोसियसन सुर्खेतका सदस्य अधिवक्ता गीता कोइराला, मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका अधिकृत मानबहादुर कार्की, अमरज्याेति माध्यमिक विद्यालयका प्रध्यानाध्यापक खगेन्द्र थापा, इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि जगतदल जनाला विक, इन्सेक कर्णाली प्रदेश कार्यालयका फाेकल पर्सन ललिता विक, सामाजिक परिचालक कलम बहादुर नेपाली लगायतले गर्नुभएको थियाे । तालिम मार्फत बालबालिका सम्बन्धी अधिकार, नेतृत्व विकास र कानुनी ज्ञान प्रदान गरिएकाे संयाेजक सुवेदीकाे भनाइ छ । तालिमकाे उद्घाटन कर्णाली प्रदेश सभा अन्तर्गत सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले गर्नभएको थियाे ।
