मानव अधिकार रक्षक बलियो र सक्रिय हुँदा राज्यका निकायलाई खबरदारी प्रभावकारी बन्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन महाशाखाको आर्थिक सहयोग तथा अनौपचारकि क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा ०८२ जेठ ८ गते गोरखामा आयोजित मानव अधिकार रक्षकहरुको क्षमता विकास कार्यक्रमका वक्ताहरुले मानव अधिकार रक्षकलाई विषयवस्तुमा दक्ष पनि बनाउनुपर्ने बताए ।
संविधानले ग्यारेन्टी गरेका अधिकार पनि कार्यान्वयनको चरणमा ग्यारेन्टी हुन नसकेको गैरसरकारी संस्था महासंघका अध्यक्ष हरि देवकोटाले बताए । सामाजिक, सांस्कृतिक, आर्थिक विषयवस्तुलाई पनि अधिकारकर्मीले जोडका साथ उठाउनुपर्ने उनले बताए ।
अधिकारकर्मी राज्यको विरोधी नभइ जनता र न्यायको पक्षमा रहने पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरेन्द्र ढकालले बताए । पछिल्लो समय पत्रकारीता पेशा प्रति विभिन्न लान्छना लगाउने प्रवृत्ति देखिएको उनले बताए । ‘फिल्डमा पुगेका पत्रकारलाई पनि विभिन्न लान्छना लगाइको पाइन्छ,’ उनले भने, ‘कतिपय अवस्थामा पत्रकारलाई सूचना नदिनेर सूचना दिएपनि अड्कलेर दिने परिपाटी देखिएको छ ।’ पत्रकारको पेशागत सुरक्षामा गम्भीर चुनौती देखिएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले मानव अधिकार रक्षकलाई सुरक्षाको प्रत्याभुति दिलाउन प्रतिवद्ध रहेको बताए । मानव अधिकारका कुरामा नमुना जिल्ला बनाउन सहयोग गर्ने प्रजिअ पौडेलले प्रतिवद्धता जनाए ।
जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाले मानव अधिकारका विषयवस्तु ग्रामीण क्षेत्रका जनतासम्म पुगेर अभिमुखीकरण कार्यक्रम गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशका कानुन महाशाखा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरण प्रसाद शर्माले मानव अधिकारका विषयवस्तु संरक्षण र सम्वद्र्धनका लागि नीति तथा बजेटमा पनि उल्लेख गरेर गतिविधि सञ्चालन गर्ने गरिएको हो । मानव अधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजनामा पनि हरेक जिल्लामा पुग्ने गरी मानव अधिकारको विषयवस्तु समेट्ने उनले बताए ।
कार्यक्रममा अधिकारर्मी, पत्रकार लगायतका सहभागीता रहेको थियो । कार्यक्रममा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका प्रमुख शिव खकुरेल र मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका सहसचिव नीतु गर्तौलाले मानव अधिकारको अवस्था लगायतका बारेमा सहजिकरण गरेका थिए ।
