
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएको अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक जेठ ५ गते जनकपुरधाममा सम्पन्न भएको छ ।
मानव अधिकार सहायता कक्षका संयोजक तथा अधिवक्ता राजकुमार महासेठले पीडितलाई आर्थिक सहयोग गर्नु पूर्व घटनाको अनुगमन गरी सत्य तथ्य पहिचान गर्नुका साथै निजहरूको सहयोगको लागि स्थानीय सरोकारवाला निकायहरूसँग समन्वय गर्ने गरेको बताउनु भयो ।
बैठकमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै मानव अधिकार उल्लङ्घन तथा जयादतीका घटनामा पीडित भएका आर्थिक रुपले विपन्न व्यक्तिलाई डिसिएको आर्थिक सहयोगमा उपचार र न्याय प्रक्रियामा जान प्रति पीडित १० हजार रुपियाँ आर्थिक सहयोग गर्ने गरिएको बताउनु भयो ।
हिंसामा परेका पीडितहरूलाई आर्थिक सहयोग गर्ने प्रकृया बारे जानकारी गराउँदै स्थानीय तह, प्रहरी, मानव अधिकारकर्मी र मानव अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूले पीडितलाई आर्थिक सहयोग तथा न्यायमा पहुँचका लागि सहजिकरण गरिदिनुहुन भनि सिफारिश गरेको आधारमा पीडितलाई आर्थिक सहयोग प्रदान गर्ने गरिएको उहाँले जानकारी दिनु भयो ।
इन्सेक संरक्षण परियोजनाका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले कार्यक्रमको उपलब्धी, पीडितलाई आर्थिक सहयोग र न्यायमा पहुँचका लागि सहजिकरण गर्दा आइपर्ने समस्या तथा चुनौतीहरूको बारेमा बैठकका सहभागीहरुसँग छलफल गर्नु भयो । पीडितलाई न्यायमा पहुँचका लागि मानव अधिकार सहायता कक्षका पदाधिकारीहरूको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।
सन् २०२५ जनवरीदेखि मे सम्ममा सुदुरपश्चिम, लुम्बिनी र मधेस प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका ३५ जनालाई कानुनी उपचारका लागि सहजिकरण गरेकोमा १२ जनाले अदालतबाट न्याय प्राप्त गरेको परियोजना कार्यक्रम अधिकयत आचार्यले जानकारी दिनु भयो । जसमध्ये धेरैजसो पीडित बालिका रहेको उहाँले बताउनु भयो ।
बैठकमा उपस्थित मानव अधिकारकर्मी तथा मानव अधिकार सहायता कक्षका सदस्यहरूले पीडितलाई न्याय प्रक्रियामा सहजिकरणका लागि समन्वय र सहकार्य गरी हामी एक भएर लागेको बताउनु भयो ।
बैठकमा इन्सेक मधेस प्रदेश प्रलेख अधिकृत मोहन चौधरीले सन् २०२५ जनवरीदेखि हालसम्ममा १० जना पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिनु भयो ।
बैठकले सन् २०२५, मार्च १३ देखि मे १९ तारिख सम्ममा मानव अधिकार सहायता कक्षले मानव अधिकार उल्लङ्घनका घटनाका पीडितहरूलाई प्रदान गरेको आर्थिक सहयोगको विषयमा छलफल गर्दै ती पीडितहरूलाई गरिएको आर्थिक सहयोगको अनुमोदन गर्ने निर्णय ग¥यो ।
त्यसैगरी, बैठकले बलात्कार र हत्या घटनाका पीडित परिवारलाई मानव अधिकार सहायता कक्षबाट जनही १० हजार रुपियाँको दरले प्रदान गरिने भनि सिफारिस सहित निर्णय गरेको छ ।
मानव अधिकार सहायता कक्षका संयोजक तथा एडभोकेसी फोरमका प्रदेश संयोजक राजकुमार महासेठको संयोजकत्वमा बसेको बैठकमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० की वडा सचिव जमुना भुजेल, माइती नेपालका पुरुषोत्तम यादव, ओरेक धनुषा संयोजक समिता तामाङ, शान्ति पुर्नस्थापना केन्द्र जनकपुरकी रिनाकुमारी झा, निल हिरा समाजका प्रदिपकुमार यादव, थर्ड एलायन्सका प्रदेश संयोजक अर्जुन साह लगायतको उपस्थिति रहेको थियो ।
