जिल्ला कारागार, भोजपुरको इन्सेकले अनुगमन गरेको छ ।
कैदी तथा थुनुवाहरूले कारागारभित्र आधारभूत मानव अधिकार बमोजिमको सुविधा पाए नपाएको विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले वैशाख २३ गते जिल्ला कारागार, भोजपुरको अनुगमन गरेको हो ।
इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल, प्रलेख अधिकृत पुण्य अधिकारी, नेपाल पत्रकार महासङ्घ भोजपुर शाखा, कार्यवहाक अध्यक्ष शारदा तामाङलगायत पत्रकार र मानव अधिकारको टोलीले जिल्ला कारागारको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा कारागारभित्र कैदीबन्दीले आधारभूत मानव अधिकारको सुविधा पाए नपाएको बारेमा अनुगमन गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताउनु भयो ।
अनुगमनका क्रममा कैदीबन्दीसँग मुद्दा सुनुवाई ढिलो भएका कारण कारागारमा पुर्पक्षमा लामो समय बस्नु परेको, बिरामी हुँदाका बखत आधारभूत स्वास्थ्य उपचार पाए नपाएको विषयमा जानकारी लिइएको छ ।
कारागाभित्र सबै कुराको व्यवस्थापन राम्रो र सुरक्षित भएपनि कैदीबन्दी बस्ने दुई ओटा कोठामा उचित मात्रामा अक्सिजन प्रवाह नहुने भएकाले सो कुरालाई सम्बन्धित निकायमा पुर्याउन थुनुवा जर्मन तामाङले आग्रह गर्नु भयो । कारागारमा हाल ९१ जनालाई राखिएको छ ।

अनुगमन टोलीले जिल्लाको मानव अधिकार अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी नरबहादुर थापा, डिएसपी युवराज तिम्सिना र पत्रकार तथा अधिकारकर्मीसँग छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले इन्सेकको अनुगमन टोलीसँग जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालयको आवश्यकता देखेको र सोका लागि राजनीतिक दलको ध्यानाकर्षण गराइदिन आग्रह गर्नु भएको छ । जिल्लामा यौनजन्य घटना र आत्महत्याका घटनामा क्रमिक रूपमा वृद्धि देखिएकाले त्यसको निराकरणका लागि पत्रकार र इन्सेकजस्ता संस्थाले सचेतना शिविर सञ्चालन गर्नुपर्ने अवस्था देखिएको प्रमुख जिल्ला अधिकारी थापाले अनुगमन टोलीसँग आग्रह गर्नु भयो ।


अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको समेत अनुगमन गरेको छ । वैशाख २३ गते गरिएको अनुगमनका क्रममा अनुगमन टोलीले हिरासतमा राखिएकी एक जना महिला र पाँच जना पुरूषले हिरासतमा आधारभूत कुरा पाए नपाएको विषयमा जानकारी लिएको छ ।
हिरासतमा रहेकाहरूले दैनिक रूपमा डिएसपीले आएर सोधपुछ गर्ने र आवश्यकताका आधारमा घरपरिवारलाई फोन सम्पर्क गर्नदिने, हिरासतभित्र शौचालय र पानीको उचित व्यवस्थापन भएको अनुगमन टोली समक्ष बताएका छन् ।
अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिम्सिनाले कारागारमा रहेका कैदीबन्दीहरूको मुद्दा वा पुर्पक्षका विषयमा दैनिकजसो सोधपुछ गर्ने र सोही अनुसार मुद्दाको प्रक्रियाका विषयमा कार्य सम्पादन गर्दै आएको बताउनु भयो । डिएसपी तिम्सिनाले भोजपुर सानो र शान्त जिल्ला भएकाले पनि जघन्य खालका मानव अधिकारविरूद्धका घटना नभएको बताउनु भयो ।


इन्सेकको अनुगमन टोलीले जिल्लाका मानव अधिकारकर्मी र पत्रकारसँग जिल्लाको मानव अधिकारका अवस्थाका बारेमा छलफल गरेको छ ।
छलफलका क्रममा पत्रकार प्रदीपचन्द्र राईले भोजपुरमा ०७४ असार १० गते अरूण गाउँपालिका-३ प्याउलीका तीन जना बालबालिकाको शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले न्याय नपाएकाले सो घटनालाई इन्सेकले चासोका साथ उठान गर्न आवश्यक रहेको बताउनु भयो ।
छलफलका क्रममा नेपाल पत्रकार महासङ्घ भोजपुर, शाखाकी कार्यवहाक अध्यक्ष शारदा तामाङले जिल्लामा आत्महत्याका घटनामा वृद्धि भएको पाइएकाले त्यसलाई समेत मानव अधिकारकर्मीले चासोका साथ हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जिल्लामा १३ वर्षीया बालिकाले आत्महत्या गरेको भन्दै त्यसका कारणहरू खोज्न आवश्यक भएको बताउनु भयो ।
छलफलमा अग्रज पत्रकार साइमन राईलगायत अधिकारकर्मी र पत्रकारहरूको सहभागिता थियो ।

